काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले आगामी मौद्रिक नीति फोर्स मर्जरमा केन्द्रित हुने संकेत गरेका छन्। सोमबार भएको मौद्रिक नीतिको पूर्व तयारी विषयक छलफल कार्यक्रममा उनले फोर्स मर्जको नीति आउने संकेत गर्दै भने, ‘के बिहे गर्ने हो र प्रेम हुनैपर्ने ? यहाँ त मर्जरको कुरा छ जुन देशको हितमा छ।'
उनले मर्जरको धेरै फाइदा भएपनि दुईवटा मुख्य फाइदा प्रविधिमा प्रशस्त लगानी गर्न सकिने र अर्को बजारमा पैसाको मुभमेन्टलाई कम गर्नका लागि मर्जर जरुरी रहेको दाबी गरे।
२०६२/६३ देखि बैंकहरुलाई एक आपसमा मर्जरको लागि राष्ट्र बैंकले खुल्ला छोडेपनि १० बर्षसम्म उनीहरु अग्रसर नभएकोले २०७२ सालमा पुँजीबृद्धिको बाटो अपनाएको डा.नेपालले स्पष्ट पारे।
त्यसैगरी उनले बैंकहरु मर्जमा नगइ सुखै नभएको भन्दै बैंकहरुलाई भने,‘मनीटरी पोलीसी नआउन्जेल एक अर्कामा प्रेम गर्नुस्, तपाईहरुको काउन्डाउन सुरु भइसकेको छ।’
उनले भने,‘पहिले पुँजीबृद्धि गरेर आठ अर्ब पुर्याउँदा म एक्लै लडेको थिए तर अहिले मर्जरको लागि सरकार मेरो साथमा छ,बजेटमा नै मर्जरको कुरा सम्बोधन भएको छ, अब कुनै समस्या हुदैन।’
नेपाल राष्ट्र बैकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिको तयारी गरिरहेको छ।
मौद्रिक नीतिमा फोर्स मर्जर भन्ने शव्द नराखेपनि विभिन्न नीतिगत व्यवस्था गरेर बैंकहरुलाई मर्जमा जान बाध्य हुनेगरी ल्याउन लागिएको नेपाल राष्ट्र बैंकका एक अधिकृतले बताए।
गभर्नर डा. नेपालले बैंकहरुले नेपालमा सबैभन्दा दक्ष जनशक्ति भएको एक मात्र संस्था नेपाल राष्ट्र बैंक भएकोले केन्द्रिय बैंकले ल्याउने नीति अर्थतन्त्रमा दीर्घकालीन असर हुने बताए। उनले राष्ट्र बैंकले मौद्रिक नीति देशको वित्तिय नीतिलाई सपोर्ट गर्ने र मुद्रास्र्फितिलाई नियन्त्रण गर्ने गरी ल्याइने भन्दै केन्द्रिय बैंक कसरी मौद्रिक नीति ल्याउनुपर्छ भन्ने कुरामा राम्रो जानकार रहेको स्पष्ट पारे।
कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले संघले आफ्ना मागहरु लिखित रुपमा बुझाएको र सो मागलाई राष्ट्र बैंकले सम्बोधन गर्न आशा रहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४