जनकपुर- सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका महेशवारीस्थित प्रहरी कार्यालयमा एक महिलाको शव फेला परेको छ।
प्रहरी कार्यालयको शौचालयमा सुमनदेवी ठाकुरको शव झुण्डिएको अवस्थामा शव फेला परेको हो । शौचालयको भेन्टिलेसनमा झुन्डिएको अवस्थामा सुमनको शव आइतबार फेला परेको थियो ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार सुमनदेवीलाई प्रहरीले मोबाइल चोेरीसम्बन्धी घटनामा शनिबार पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय लहानमा ठाउँ अभावको कारण उनलाई महेश्वारी प्रहरी हिरासतमा पठाइएको थियो ।
उनीसंगै चेक बाउन्स मुद्दामा पक्राउ परेकी एक जना महिलालाई पनि त्यही पठाइएका थियो। दुवै जना संगै सुतेको र आइतबार विहान उठेर प्रहरी कार्यलयको परिसरमै कुराकानी गरिरहेका थिए।
एक छिन पछि बैंककिङ्ग कसुरमा पक्राउ परेकी महिलाले त्यहाँका प्रहरीलाई चिया खाने भनिन र प्रहरी दुवै जनाको लागि चियाको प्रवन्ध गर्न गएको बेला सुमनदेवी अचानक पेट दुख्यो भनेर शौचालयमा गएकी थिइन्।
१५/२० मिनेटसम्म पनि फर्केर नआउदा शंका लागि महिला प्रहरी हेर्न जाँदा सुमनदेवी शौचालयको भेन्टिलेशनमा आफ्नै साडीमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकि थिइन्।
सप्तरी खड्क नगरपालिका वडा नम्बर ७ घर भई हाल लहान बस्दै आएकी २५ वर्षीय सुमनदेवी मोबाइल चोरीमा पक्राउ परेको हुँदा लोकलाजको कारण शौचालयको भेन्टिलेशनमा आफ्नै साडीमा झुन्डिएर आत्महत्या गरेको प्रहरीको दावी छ ।
घटनाबारे अनुसन्धान जारि रहेको जिल्ला प्रहरी कार्यलय सिराहाका एसपी उमा प्रसाद चतुर्वेदीले बताएका छन् । मृत्क सुमनदेवीका पति लक्ष्मण ठाकुर आक्रोशित हुँदै घटनाको सत्यतथ्य पत्तालगाउन माग गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४