काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को बचाउ गर्दै आएका छन्। नेपालमा राजसंस्था फर्काउने अभियानमा रहेका थापाले बारम्बार विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउन माग गर्दै आएका छन्।
रोचक त के छ भने थापाले गोलमेच सम्मेलन माग गर्दैछन् । गोलमेच सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित विप्लवलाई पनि सहभागी गराउनुपर्ने माग उनको छ।
जेठ २३ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमा थापाले भनेका थिए, ‘राजनीतिक मूलधारमा पूर्वराजा र विप्लव समूह अटाउने गरी गोलमेच सम्मेलन गरिनुपर्छ। देशमा स्थायित्व, मुलुकको समृद्धि हासिल गर्न राजसंस्थादेखि विप्लव समूह अटाउने गरी नेपाली परिवेशअनुसारको सर्वपक्षीय गोलमेच सम्मेलन आवश्यक छ।’
त्यसअघि २१ जेठमा बुटवलमा प्रदेश कार्यालय उद्घाटन गर्दै थापाले भनेका थिए, ‘१२ वर्षअगाडि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन मुलुकले धेरै मूल्य चुकायो । फेरि अर्को माओवादी पुनरुत्थान हुनु हुँदैन । मुलुक द्वन्द्वमा फस्नबाट बचाउन राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्न गोलमेच सम्मेलन आवश्यक छ। पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र कायम गरौं। संघीयतामा सुधार गरी स्थानीय तहलाई बढी अधिकार दिऔं। अल्पसंख्यक धर्मको संरक्षण गरौं।’
थापाका यी अभिव्यक्ति २०६२ /०६३ को जनआन्दोलनका उपलब्धि समाप्त पार्ने गरी आउन थालेको विश्लेषण गरिएको छ । उनका भनाइले के स्पष्ट हुन्छ भने गणतन्त्र समाप्त पारी राजतन्त्र पुनस्र्थापना मात्र होइन, संघीयता समाप्त पारी एकात्मक शासन व्यवस्था अपरिहार्य छ ।
थापाका लागि हिन्दु राष्ट्र पुनस्र्थापना र राजतन्त्रको कुरा नौलो भएन । तर उनले पछिल्लो समय उठाउन लागेको विप्लवको प्रसंगको चाहिँ राजनीतिक अर्थ बुझ्न सकिएको छैन।
थापाले पार्टीको जारी केन्द्रीय कार्य समितिको विस्तारित बैठकमा प्रस्तुत गरेको राजनीतिक कार्यदिशामा पनि विप्लवको खुब चर्चा गरेका छन्। पार्टीको कार्यदिशा आइतबार सम्पन्न विस्तारति बैठकले पारित गरेको छ।
कार्यदिशाको सुरुमै ‘माओवादीको पुनरुत्थान’ शीर्षकमा उनले लेखेका छन्, ‘१३ वर्ष लामो शान्ति प्रक्रिया टुंगिएर नया“ संविधान जारी भई दुई तिहाइ बहुमतका साथ नेपाल कम्युनिस्ट पार्टीको सरकार गठन भएका बेला नया“ रूप र थप शक्ति सञ्चयका साथ माओवादी विद्रोहको पुनरुत्थान हुन लागेको देखिन्छ।’
थापाका अनुसार विप्लवका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएपछि हिंसात्मक घटनाका शृंखला सतहमा देखिएको छ। ‘सरकारले दमन र निषेध गरेर समस्या समाधान गर्ने रणनीति अपनाएको छ। तर, विगतको सशस्त्र हिंसात्मक विद्रोहको अनुभवले उक्त रणनीति प्रत्युत्पादक हुने स्पष्ट देखिन्छ’, उनले लेखेका छन्।
कहाँ जोडिन्छन् थापा र विप्लव
थापा नेतृत्वको राप्रपाले पछिल्लो समय राष्ट्रिय स्वाभिमान यात्रा सुरु गरेको थियो। राप्रपाले राष्ट्रिय अखण्डताको कुरा चर्को रूपमा उठाएको थियो।
‘राष्ट्रियता’ को अमूर्त एजेन्डामा थापा र विप्लव नजिक देखिन्छन्। विप्लव समूहले पनि राष्ट्रियतालाई मूल एजेन्डा बनाएको छ।
थापाले उठाएको राष्ट्रिय अखण्डताका विषयमा पनि विप्लव समूह सकारात्मक हुनु स्वाभाविकै हो।
राष्ट्रियता र अखण्डताबाहेक अन्य पनि केही विषय छ जसले थापा र विप्लवलाई नजिक ल्याएको छ– त्यो हो हिन्दु धर्म। विप्लव समूहले धर्म निरपेक्षताका पक्षमा बोलेको छैन। आइएनजिओ र विदेशी शक्तिको इसारामा धर्मनिरपेक्षता लादिएको ठहर विप्लवको छ।
त्यसकारण हिन्दु धर्मका विषयमा पनि थापा र विप्लव निकट छन्।
थापा र विप्लवबीचको कनेक्सनले पूर्वराजा ज्ञानेन्द्र शाह पनि गठबन्धनमा सहभागी हुन सक्ने सम्भावना अस्वीकार गर्ने अवस्था छैन।
पर्दामा आउने चाहना!
सरकारले विप्लव समूह र डा. सीके राउत नेतृत्वको समूहलाई लक्षित गरी राजनीतिक वार्ता समिति २०७५ गठन गरेको थियो। तर उक्त समितिले यी दुवै समूहसँग वार्ता गर्न सकेन।
कालान्तरमा सीके राउत समूहसँग प्रधानमन्त्री केपी शर्मा ओलीकै स्तरबाट वार्ता भयो। र, डा.राउत ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आए।
तर, विप्लव समूहले वार्तालाई अस्वीकार गर्दा प्रतिबन्धको सामना गर्नुपरेको छ।
थापा नेतृत्वको राप्रपाले कुनै ठूलै तहल्का मच्चाउने खालको गविधि गरेको छैन। तर, सरकारसँग वार्ता गर्दैछ।
सामान्य अभियान चलाएका कमल थापा सरकारसँग वार्तामा पुग्नुको अर्थ बाहिर आएको छैन। तर, वार्ताका क्रममा भएपछि उनले अभियान रोकेको छ।
अब विप्लव र पूर्वराजालाई चर्चामा ल्याएर थापा पनि मूलधारको राजनीतिक पर्दामा आउन खोजेका छन्।
पछिल्लो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नमिठो हार ब्यहोरेका थापा अहिले मूलधारको राजनीतिक पर्दाबाट बाहिर छन्।
उनले पूर्वराजाको सक्रियता र विप्लव समूहको गतिविधिको आडमा आफूलाई राजनीतिक पर्दामा ल्याउन खोजेको कतिपयको ठम्याइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४