काठमाडौ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले नेपाली कांग्रेस दलाल र नोकरशाही भएको निष्कर्ष निकालेको छ। पार्टीको सचिवालय बैठकले प्रकाशनका लागि अन्तिम रुप दिएको दस्तावेजमा यस्तो निष्कर्ष उल्लेख गरिएको छ।
‘नेपाली कांग्रेस नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो। यसले सामन्तवादविरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि आफ्नो ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिका कारण नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन। यद्यपि यसले लोकतान्त्रिक प्रक्रिया र लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ’, दस्तावेजमा उल्लेख छ।
नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व कांग्रेसले नै गरेको नेकपाको दस्तावेजमा उल्लेख छ। ‘त्यसैले अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादसँग यसको घनिष्ट एवं अन्योन्याश्रित सम्बन्ध छ। यसको नवउदारवादी आर्थिक नीतिको अन्धानुकरण यसै परिप्रेक्ष्यमा बुझ्नुपर्दछ।
कांग्रेसको आर्थिक नीतिकै कारण देशमा उत्पादक शक्तिको विकासले गति लिन सकेन र आर्थिक विकास हुन सकेन। कांग्रेसको वर्गचरित्रमा आधारित यस प्रकारको नीतिकै कारण प्रजातान्त्रिक समाजवादको नारा हास्यास्पद ढोँगमा परिणत भएको छ’, दस्तावेजमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४