काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाह, राजा महेन्द्र र बिपी कोइरालालाई आदर्श मान्ने निर्णय गरेको छ।
पार्टीको आइतबार सम्पन्न विस्तारित बैठकले पृथ्वीनारायण शाहको दिव्योपदेश, महेन्द्रको राष्ट्रवाद र बिपीको मेलमिलाप नीतिलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्ने निर्णय गरेको हो।
बैठकले पार्टीलाई कांग्रेस र कम्युनिस्टको विकल्पका रूपमा बलियो राष्ट्रवादी शक्ति बनाउने संकल्प गरेको छ। यसैगरी समान विचार भएकाहरूसँग एकता गर्ने निर्णय बैठकले गरको छ। बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ, ‘राप्रपाबाट विभाजित भई खडा भएको राप्रपा (संयुक्त) सँगको एकतालाई प्राथमिकता दिइनेछ।’
पार्टी महाधिवेशन आगामी जेठमा गरिने भएको छ। महाधिवेशनमा प्रतिनिधि छनोट वडा तहबाटै गर्ने निर्णय बैठकले गरेको छ।
सरकारको कार्यशैली सर्वसत्तावाद उन्मुख भएको भन्दै राप्रपाले संवैधानिक निकाय, आयोग, प्रशासन, शैक्षिक संस्था कूटनीतिक नियोग र सुरक्षा निकायमा समेत कार्यकर्ता भर्तीकेन्द्र बनाएको आरोप लगाएको छ।
बैठकले गुठी विधेयक खारेज गरी कर्म, संस्कृति र परम्परामाथि कुनै आघात पुग्ने कार्य नगर्न र सरोकारवाला पक्षसँग घनीभूत छलफल र संवाद गर्न राप्रपाले माग गरेको छ।
बैठकले धर्म परिवर्तन गराउनेलाई कारबाही गर्न र यस्ता कार्यलाई निरुत्साहित गर्न राप्रपाले सरकारसँग माग गरेको छ। यस्तै सरकारसमक्ष पेस गरेको २२ बुँदे माग पूरा नगरे भदौ बाट संघर्षमा उत्रने निर्णय बैठकले गरेको छ।
यसैगरी राप्रपाले २०७६ लाई ‘संगठन निर्माण वर्ष’ का रूपमा कार्यान्वयन गर्ने भएको छ।
यस क्रममा देशका सबै वडामा पार्टी एकाइ समिति गठन गरिने, कम्तीमा ३ लाख सदस्य बनाइने, प्रत्येक पालिकामा युवक, महिला, विद्यार्थी र धार्मिक संगठन विस्तार गरिने तथा ७५३ वटै स्थानीय तहमा प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४