काठमाडौं- पूर्वगृहमन्त्री जनार्दन शर्माले सर्लाहीको लालबन्दीमा विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेललाई निर्मम ढंगले हत्या गरेको दाबी गरेका छन्।
राज्य व्यवस्था समितिको आइतबार बैठकमा सांसद शर्माले आफूले बुझ्दा पौडेललाई निर्मम ढंगले मारिएको पाइएको बताएका हुन्। उनले भने, ‘यो घटना हेर्दा मलाई त धनमायाको हत्या भएको सम्झना आयो, लली रोकाको हत्या भएको सम्झना आयो।’
सत्तारुढ नेकपाका सांसद शर्माले पौडेल हत्यालाई पञ्चायती बरबरतासँग तुलना गरेका छन्। उनले पौडेलको हत्या निर्मम तरिकाले भएको सूचना पाएको जानकारी दिँदै भने, ‘संविधान र कानुनभित्र कारबाही गर्न उचित हुन्छ त्यसमा हाम्रो केही आपत्ति छैन।
तर, निर्मम ढंगले मारिएको भन्ने सूचना जनस्तरबाट बुझेको हुनाले यो मलाई त पञ्चायती बर्बरताको जस्तो लाग्यो।’ उनले घटनाको सत्यतथ्य जनतासमक्ष ल्याउन माग गरे।
शर्माले जनतालाई भड्काउने खालका घटना भइरहेको बताउँदै त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि असफल पार्न सक्ने आशंका गरे।
शर्माले भने, ‘विभिन्न ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी असफल गर्ने भनेर चौतर्फी रुपमा घेराबन्दी पनि भइराख्या छ। मास भड्काउने, जताबाट पनि गणतन्त्रमा ल्याएर जोडिदिने।
हामीले त्यसलाई सच्याउन सकेनौं, कारबाही गर्न सकेनौं भने त्यसले राम्रो दिशातिर लैजाँदैन।’
प्रहरीले घटनामा कुमारको समूहले गोली चलाएपछि प्रतिरक्षाका लागि फायर गरेको दाबी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४