मंगलबार, साउन २६, २०८३

सेयरमा ‘कालो धन’ देखिए ५ करोड जरिबाना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सेयर बजारमा सूचीकृत कम्पनीले आफ्नो संस्थामा सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने भएको छ । यस्तो व्यस्था लागू नगर्ने कम्पनीले पाँच करोडसम्म जरिबाना तिर्नुपर्ने निर्देशिका नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको छ।

बोर्डले दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको कारोबार निगरानीका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७६ जारी गरेको छ।

कालो धनको कारोबार नहोस् भन्ने उद्देश्यका साथ निर्देशन जारी गरिएको बोर्डले जनाएको छ।

निर्देशिकाअनुसार सूचीकृत कम्पनीको कुनै पनि व्यक्तिले एकैपटक वा पटकपटक गरी एकै दिन १० लाख रुपैयाँभन्दा बढीको कारोबारको वित्तीय जानकारी एकाइमा दिनुपर्नेछ । त्यसैगरी कुनै पनि कारोबार शंकास्पद लागेमा सोको प्रतिवेदन वित्तीय जानकारी एकाइमा दिनुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ।

बोर्डका अनुसार निर्देशन कार्यान्वयन नभएमा पहिलोपटक लिखित रुपमा सचेत गराइने, दोस्रोपटक व्यवसाय गर्न रोक लगाइने र तेस्रो पटक १० लाख रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्म जरिबाना गरिने र त्यसपछि सूचीकृत संस्थाको दर्ता खारेजीसम्म गरिनेछ ।

ऐननियमावली र निर्देशिनका कार्यान्वयन नगर्ने सूचक संस्था र त्यस्तो संस्थाको कर्मचारी तथा पदाधिकारीमाथि ऐनबमोजिम कारबाही हुने उल्लेख छ।

निर्देशनअनुसार सूचीकृत कम्पनीमा लगानी गर्ने लगानीकर्ताको लगानीको स्रोत वास्तविक सेयरधनीको पहिचान गर्नुपर्नेछ। सूचीकृत कम्पनीले वास्तविक सेयरधनीको अभिलेख कम्तीमा पनि पाँच वर्षसम्म राख्नुपर्नेछ।

यस्तो निर्देशिका नेपाल राष्ट्र बैंक, बिमा समिति र सहकारी विभागले यसअघि नै जारी गरिसकेका छन्।

हरेक नियामक निकायले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशिका जारी गरिरहेका छन्। कालो धनको कारोबार नहोस् भन्ने उद्देश्यका साथ नियामक निकायले मातहतका कम्पनी तथा संस्थाले सो निर्देशन जारी गर्ने गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्