काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले ‘सांसदहरुले गलत बुझेको’ टिप्पणी गरेपछि आइतबार राज्यव्यवस्था समिति बैठकमा केहीबेर तनाव भएको छ ।
बैठकमा मन्त्री लालबाबु पण्डितले भनेका कुरालाई समितिका सदस्यहरुले गलत बुझेको भन्दै स्पष्ट पार्ने कोसिस गरेपछि समिति सदस्य पूर्वगृहमन्त्री जनार्दन शर्माले प्रतिकार गर्दा स्थिति तनावपूर्ण बनेको हो ।
समिति सदस्यहरुले गलत बुझे भन्ने अधिकार सचिवलाई नभएको भन्दै समिति सदस्य शर्माले प्रतिकार गरेपछि सभापति शशि श्रेष्ठले रुलिङ गर्दै ५ नम्बर बुँदाको विश्लेषण रोकी ६ नम्बर बुँदामा प्रवेश गर्न सचिवलाई ध्यानाकर्षण गराएकी थिइन् ।
शर्माले भनिन्, ‘गलत तरीकाले व्याख्या गरेको भनेर भन्नुहुन्छ उहाँले । त्यो भन्ने राइट छैन । हामीले लोकसेवाबाट गरांै भन्दाभन्दै रक्त सम्बन्ध भन्ने पनि उहाँ, हामी चुप लाएर बस्या छौं । आज फेरि गलत ढंगले व्याख्या गरेका छैनौं । रोक्ने होइन । यो कुरा उहाँले भन्न पाइँदैन ।’
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा नम्बर ५को श्रेणी र तहगत व्यवस्थामाथि मन्त्रीले भनेको भनाइलाई समिति सदस्यहरुले गलत बुझेको भन्दै त्यसबारे थप प्रष्ट पार्ने प्रयास गरेपछि सचिव र समिति सदस्यबीच भनाभन भएको हो ।
समितिको बैठकमा ५ नम्बर बुँदामा विवाद भएपछि त्यसलाई छोडेर ६ नम्बर बुँदाको छलफल अगाडि बढाइसकेका बेला सचिवले ५ नम्बर बुँदामा प्रवेश गर्दै समिति सदस्यहरुले मन्त्रीको कुरालाई गलत बुझेको अभिव्यक्ति दिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४