काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा चीनको साता व्यापी औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
सेनापतिको चीन यात्रा दुई देशको बीचको सैन्य सहयोग र सहकार्य अभिवृद्धि गर्न महत्वपूर्ण रहेको सेनाले जनाएको छ । सेनापतिको चीन यात्राकै क्रममा करिब साढे अर्बको सैन्य सहायताको प्रोटोकलमा हस्ताक्षर भएको थियो ।
उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र चीनको सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी समझदारी, हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
उक्त अवसरमा नेपालस्थित चीनका महामहिम राजदूत, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचारीको उपस्थिति रहेको थियो । थापालाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
भ्रमणको दौरान प्रधानसेनापतिले चनियां स्टेट काउन्सिलर समेत रहेका वेई फेंगे, चिफ अफ स्टाफ समेत रहेका केन्द्रिय सैन्य आयोगका सदस्य जनरल ली जुछेगंलगायत चिनियां जनमुक्ति सेनाका उच्च पदस्थ व्यक्तित्वहरुसंग भेटवार्ता गर्नुको साथै विभिन्न सैनिक संरचना तथा ऐतिहासिक स्थानहरुको निरीक्षण भ्रमण गरेका थिए।
सोहि क्रममा प्रधानसेनापतिले मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोग अन्तरगत प्रदान भएको १५० मिलियन बराबरको सामग्रीहरु तथा विभिन्न प्रकारका सवारी साधनहरु प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा समेत गरेका थिए ।
चिनियां जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा सप्ताहव्यापी भ्रमणको लागि गत आषाढ १ गते मित्रराष्ट्र चीन प्रस्थान गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४