काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
आजको नागरिक दैनिकले नेपाली कांग्रेसभित्र १४ औं महाधिवेशन गर्ने कि पार्टीका अपूर्ण संरचनालाई पूर्णता दिने भन्नेमा विवाद चर्किएको विषयलाई मुख्य समाचार बनाएको छ।
सभापति शेरबहादुर देउवा पक्ष दोस्रो चरणको जागरण अभियानअघि नै विधानको व्यवस्थाअनुसार विभागसहितका संरचना गठन गर्ने तयारीमा छ । तर, नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्ष त्यसको विपक्षमा छन् ।
पौडेल पक्षहरु महाधिवेशन भएको ३ वर्षपछि विभागहरु गठन गर्नुको औचित्य नभएको दावी गर्दै १४ औं महाधिवेशको तयारीमा जुट्नु पर्ने तर्क अघि सार्दै आएका छन् । आगामी निर्वाचनको तयारीका लागि पनि समयमै महाधिवेशन गर्नुपर्ने असन्तुष्ट पक्षको तर्क छ ।
यस्तै नागरिकले सुदूरपश्चिममा ११ महिनामा सवारी दुर्घटनामा परि २ सय जनाले ज्यान गुमाएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । मापदण्डविपरितका सडकका कारण दुर्घटना बढेका छन् । सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा रहेका सबै सडक मापदण्डविपरित रहेको समाचारमा उल्लेख छ।
यस्तै आजको अन्नपूर्ण पोस्ट्ले सरकारी पैसामा सांसदहरुको जम्बो टोली विदेश सयरमा जान लागेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।
विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगको अवस्था बुझ्न भन्दै परिवार, आफन्तसहित सांसदको टोली विदेश भ्रमणमा जान लागेको समाचारमा उल्लेख छ। संघीय संसद्को सार्वजनिक लेखा समितिका सांसदहरू सरकारी खर्चमा विदेश यात्रामा निस्कन लागेका हुन्।
लेखा समितिअन्तर्गत गठित उपसमितिमा रहेका चार सांसदसहित समिति सभापति, एक जना समिति सचिवालय सदस्य र परराष्ट्र मन्त्रालयका उपसचिव यही साताभित्र पश्चिम एसिया र युरोपका चार मुलुकको भ्रमणमा जाने तयारीमा रहेको संसद् सचिवालयका एक अधिकारीले बताए।
राजेन्द्रकुमार केसी नेतृत्वमा रहेको उपसमितिमा चन्दा चौधरी, प्रेम आले र अमनलाल मोदी सदस्य छन्। उपसमिति सदस्यसँगै समिति सभापति भरतकुमार शाह पनि विदेश भ्रमणमा जाँदै छन् भने समिति सचिव डा. रोजनाथ पाण्डे पनि विदेश भ्रमणमा जानेको सूचीमा छन्।
टोलीले साउदी अरेबिया, बेलायत, जर्मनी र फ्रान्समा रहेका नेपाली दूतावासको भ्रमण गर्नेछ।
यस्तै अन्नपूर्णले तनहुँको रिब्दीकोट गाउँपालिका ख्याहास्थित जोगिथुमको कुमालबस्तीका बालबालिकालाई सिक्रीमा बाधेर राखेको विषयलाई मुख्य समाचार बनाएको छ । अधिकांश बालबालिकामा अपांगताको समस्या देखिएपछि यसरी बाधेर राखिएको समाचारमा जनाइएको छ ।
७० घरपरिवार रहेको विपन्न बस्तीमा अधिकांश घरमा तीनदेखि पाँचजनासम्म अपांगता भएका व्यक्ति छन्। विपन्नताका कारण उनीहरू रोगको उपचार गराउन सक्दैनन्। गाउँ नै अन्धविश्वास रुमल्लिएका कारण उनीहरूको समस्या जटिल बनेको छ।
आजको कान्तिपुर दैनिकले भने थानकोट चित्लाङ जोड्ने सडकको स्तरोन्नतिका नाममा बन क्षेत्र र पहाड नै सखाप हुनेगरि ढुंगा विक्रि गरिएको विषयलाई प्राथमिकताका साथ छापेको छ। जथाभावि ढुंगा निकाल्ने काम भएपछि अहिले पहिरोको जोखिम बढेको छ ।
यस्तै कान्तिपुरले १०० कम्पनीले नक्कली भ्याट बिल बनाएर साढे ७ अर्ब कर छलि गरेको पाइएको विषयलाई मुख्य समाचार बनाएको छ । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने १०० कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छलि भएको खुलासा भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४