सुर्खेत – गत जेठ २५ गते आएको हावाहुरीले कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइनका १७ वटा पोल ढाल्यो।
दर्जन बढी ठाउँमा विद्युत्का तार चुँडिए र दुई दिनसम्म विद्युत् प्रसारण बन्द भयो। त्यसको दुई दिनपछि अर्थात् २७ गते फेरि हावाहुरी आयो र उसैगरी दर्जन बढी पोलहरु ढले र दुई दिनपछिनै बत्ती आयो। बिहीबार बिहानमात्रै आएको हावाहुरीले सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानका पश्चिम क्षेत्रमा विद्युत् अवरुद्ध छ।
कतिवटा पोलहरु ढले र कति ठाउँ विद्युत् क्षति पुग्यो भन्ने यकिन छैन। हावाहुरीले विद्युत्मा पुर्याएको क्षतिको एकिन जानकारी नै नभएपछि विद्युत् कहिले आउँछ यसै भन्न सक्ने अवस्था छैन।
समस्या आजको मात्रै होइन। प्राय हिउँदबर्खामा दिनपिच्छे आउने हावाहुरीले विद्युत् अवरुद्ध चक्रजस्तै भएको छ। जसले गर्दा कर्णालीका अधिकांश उपभोक्ता अन्धकारमा बस्न बाध्य छन्। नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार गएको चैतदेखि हालसम्म चार दर्जनभन्दा बढी पोल ढलिसकेका छन्।
यसरी वर्षौंदेखि हावा चल्दा विद्युत् अवरुद्ध हुनुको पछाडि दुई कारण छन्। पहिलो, ३० वर्ष पुराना र साना पोल हुन्। ‘पुराना पोलकै कारण पटक–पटक लाइन अवरुद्ध हुन्छ’, विद्युत् प्राधिकरण सुर्खेतका इन्जिनियर विजेश रन्जित भन्छन्, ‘१ सय ३३ केभिए प्रसारण लाइन नभएसम्म समस्या समाधान हुँदैन।’
त्यस्तै विद्युत् अवरुद्ध हुनुको दोस्रो कारण हो, प्रसारण लाइन मापदण्ड विपरीत हुनु। मापदण्डअनुसार पोलको दायाँ–बायाँ तीनतीन मिटरसम्मका रूखहरू हटाउनुपर्ने प्रावधान छ। तर कोहलपुर–सुर्खेत प्रसारण लाइनमा भने यो लागू भएको छैन। जसका कारण हावा चल्नबित्तिकै कुनै न कुनै ठाउँमा रुख ढल्छन् र विद्युत् अवरुद्ध हुन्छ।
तत्कालीन राजा वीरेन्द्र सुर्खेत आउँदा हतारहतारमा विद्युत् जोड्नुपर्ने बाध्यताका कारण मापदण्ड पूरा नगरी प्रसारण लाइन जोडिएको हो। वीरेन्द्रको सवारीको व्यवस्थापन समितिले ६ महिनामै प्रसारण लाइन विस्तार गरेको थियो। राजा आउँदा तत्काललाई विद्युत् सेवा उपभोग गर्न पाएका सुर्खेतवासीले भने मापदण्डविपरीत प्रसारण जोडिँदा वर्षौंसम्म समस्या भोग्दै आएका छन्।
२०४५ सालमा कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन विस्तार गरिएको हो। सडक निर्माणअघि नै विद्युत् प्रसारण लाइन विस्तार गरिँदा मर्मतमासमेत कठिनाइ भोग्दै आएको प्राधिकरण बताउँछ। ‘हावाहुरी चल्यो भने कतिबेला कहाँनेर बिग्रियो पत्ता लगाउनै मुस्किल पर्छ,’ इन्जिनियर रन्जित भन्छन्, ‘रूखका ससाना हाँगाबिँगाले समेत पोलमा बारम्बार क्षति पुर्याउँछ।’
मर्मतमा ढिलाइको अर्को कारण भनेको राष्ट्रिय निकुञ्ज हो। सुर्खेत–कोहलपुर प्रसारण लाइन बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सुर्खेत जोडिएको छ।
विद्युत् अवरुद्ध हुँदा मर्मतका लागि निकुञ्जको अनुमति लिनुपर्छ।’ उनले भने, ‘जंगली जनावरका कारण राति मर्मत गर्न सकिँदैन, सडक आसपास हुँदै लाइन विस्तार गरिएको भए यस्तो समस्या आउँथेन।’ हिउँद र बर्खाको समयमा कैयन् दिन भोकभोकै काम गर्नुपर्ने बाध्यता रहेको विद्युत् प्राधिकरणका कर्मचारी बताउँछन्।
सरकारले कोहलपुर–सुर्खेत प्रसारण लाइनको क्षमता विस्तार प्रक्रिया अघि बढाएको ६ वर्ष बितेको छ। १ सय ३२ केभिए प्रसारण लाइनका लागि सुब्बाकुनामा स्टेसन निर्माण प्रक्रियासमेत सुरु भइसकेको छ। तर, निर्माण प्रगति शून्यजस्तै छ।
‘१ सय ३२ केभिएको लाइनमा ठूला–ठूला पोल हुन्छन्’, रन्जित भन्छन्, ‘सडक आसपास भएरै लाइन विस्तार हुन्छ अहिलेजस्तो समस्या हुँदैन।’
लो भोल्टेजले हैरानी
अचेल दैनिक दर्जनौं पटक पटक विद्युत् अवरुद्ध हुन्छ। एकातिर छिनछिनमा विद्युत् अवरुद्ध हुने समस्या अर्कातिर साँझपखको लो भोल्टेज। जसले गर्दा मेसिनरी सामान बिग्रनेदेखि अन्धकारमा बस्न बाध्य छन् ग्राहक।
दैनिक ३ सय ५० एम्पियर विद्युत् आउनुपर्नेमा बढीमा २ सय ५० देखि २ सय ८० एम्पियरसम्म आउने गरेको छ। कम विद्युत् आपूर्ति हुँदा भार थेग्न नसकेर लो भोल्टेज र छिनछिनमा विद्युत् अवरोधको समस्या भोग्नुपरेको प्राधिकरणले जनाएको छ।
कोहलपुरदेखि सुर्खेत आउने ३३ केभी प्रसारण लाइन निकै पुरानो भएकाले समस्या थपिएको छ। १ सय ३२ केभिए लाइन नआउने बेलासम्म यो समस्या समाधान नहुने प्राधिकरणको भनाइ छ। हाल सुर्खेतमा मात्रै करिब ४२ हजार ग्राहक छन्।
१ सय ४५ वटा ट्रान्सफर्मर छन्। सानो क्षमता भएका स्थानमा ठूलो क्षमताको ट्रान्सफर्मर राख्ने काम पनि भइरहेको छ। जसका कारण सानातिनो समस्या आफैं हट्ने प्राधिकरणको भनाइ छ। वीरेन्द्रनगर बजारका केही ठाउँमा भने नयाँ ट्रान्सफर्मर राखिएको छ।
आधा दर्जन टोली परिचालन
विद्युत् प्राधिकरणले भने झ्याप्प, झ्याप्प बत्ती जाने समस्या समाधान खोज्न टोली परिचालन गरेको छ। सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम र जाजरकोटमा छिनछिनमा अवरुद्ध हुने विद्युत्को समस्या खोज्न आधा दर्जन टोली परिचालन गरिएको हो।
उनीहरुले प्रत्येक विद्युत्को पोलमा पुगेर तार, इन्सुलिटिर, कन्डक्टरलगायतको जाँच गर्नेछन्। एउटा टोलीमा दुई जनाको दरले कर्मचारी खटिएका छन्। विद्युत् प्राधिकरण सुर्खेतले सुर्खेत, दैलेख र जाजरकोटको झन्डै २०० किमिभित्र रहेका चार हजार विद्युत्का पोलको जाँच गर्ने जनाएको छ।
प्राधिकरणका इन्जिनियर मनोज अर्यालले टोलीले विद्युत् किन छिनछिनमा गइरहन्छ भन्ने समस्याको समाधान खोज्न सहयोग पुग्ने जानकारी दिए।
उसो त सबस्टेसनबीच समन्वय नहुँदा पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको छ। सुर्खेत, दैलेख, सल्यानको पश्चिम क्षेत्र, रुकुम पश्चिम र जाजरकोटको सबस्टेसनको समन्वय नमिल्दा पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको प्राधिकरणका कर्मचारी बताउँछन्।
यी जिल्लामा विद्युत्मा कुनै खराबी आए अहिले सीधै कोहलपुर स्टेसनबाटै विद्युत् बन्द हुन्छ। जसका कारण यी जिल्लाले प्रशस्त सास्ती पाएका छन्। तर अब सुर्खेतमै बन्द गर्न सकिने व्यवस्था मिलाउन लागिएको प्राधिकरण बताउँछ। सुर्खेतबाट विद्युत् वितरण प्रणालीमा सुधार ल्याउने काम भइरहेको र छिट्टै त्यो समस्या समाधान हुने दाबी प्राधिकरणले भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४