जनकपुरधाम- सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ। भीडन्तमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मारिनेमा विल्पव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका एसपी सन्तोष खड्काले जानकारी दिएका छन्।
प्रहरीको गस्ती टोलीमाथि लालबन्दी नगरपालिका–१ लखनदेही नदीनजिक दिउँसो करिब २ बजेतिर चार पाँचजनाको समूहमा रहेका उनीहरुले गोली प्रहार गरेका थिए। प्रहरीको जबाफी कारबाहीमा पौडेल मारिएको खड्काले बताए।
५/६ जनाको संख्यामा रहेका विप्लवका कार्यकर्ता फायर गर्दै फरार भएको एसपी खड्काले बताएका छन्। घटनास्थलबाट सिक्सर पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र दुईवटा मोटरसाइकल फेला परेको छ।
फरार भएकाहरुको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४