काठमाडौं - प्रमुख प्रतिपक्षी कांग्रेस नेताकार्यकर्ता डेनमार्कको कोपनहेगनमा भेला भएका छन्। विभिन्न देशमा रहेका जनसम्पर्क समितिका पदाधिकारीलाई प्रशिक्षण दिन, पार्टी विधानबारे छलफल गर्न र केपी ओली नेतृत्वको सरकारले गरेका अलोकप्रिय निर्णयको विरोधमा जनमत जुटाउन नेताकार्यकर्ता जम्मा भएका हुन्।
कांग्रेसको ३३ देशमा जनसम्पर्क समिति छ। कोपनहेगनमा सबै देशका जनसम्पर्क समितिका सभापति, महामन्त्री र महासमिति प्रतिनिधि गरी करिब दुई सय सहभागी छन्। शुक्रबार सुरु हुने भेलामा प्रशिक्षण दिन कांग्रेस उपसभापति विमलेन्द्र निधिसहित एक दर्जन नेताहरु कोपनहेगन पुगेका छन्।
भेलाको आयोजना केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको हो। भेलालाई कांग्रेसको जनसम्पर्क समितिहरुले सहयोग गर्दैछन्। कार्यक्रमलाई विभिन्न चरणमा बाँडिएको छ।
विधानमाथि छलफल
भेलामा संघीय संरचनाअनुरुप तयार पारेको पार्टी विधानका विषयमा छलफल हुने कांग्रेसका सूचना अधिकारी केशव रिजालले जानकारी दिए। उनका अनुसार विधानमा नयाँ प्रावधान पनि आएकाले त्यसबारे छलफल हुनेछ। पार्टीको सबै संरचनाका विषयमा जानकारी पनि दिइनेछ।
प्रशिक्षण
नेपाली कांग्रेसका जनसम्पर्क समितिका नेताहरुलाई नेपाली कांग्रेसको नीतिका विषयमा प्रशिक्षण दिइनेछ। प्रशिक्षण प्रतिष्ठानका संयोजक निधिसहितका नेताहरुले प्रशिक्षण दिनेछन्। नेपाली कांग्रेसको भावी रणनीति र कांग्रेसले चलाएको जागरण अभियानका विषयमा प्रशिक्षण दिइनेछ।
पार्टीको गुटगत समस्याले केही देशको जनसम्पर्क समितिमा पनि समस्या आएको छ। उक्त समस्याको समाधान गर्ने विषयमा पनि छलफल हुने रिजालले जनाए।
ओली सरकारलाई घेर्ने नीति
नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको झन्डै डेढ वर्ष हुन लागेको छ। यस अवघिमा सरकारले उपलब्धिमूलक काम गर्न नसकेको भन्दै आलोचना हुँदैछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि पनि बलियो भूमिका निर्वाह गर्न नसकेको आरोप छ ।
पछिल्लो समय नेपाली कांग्रेसले छाया सरकार गठन गरी संघीय संसदमा सक्रियता देखाएको छ भने हिमाल पहाड तराई मधेश कांग्रेस राष्ट्रिय जागरण अभियानमार्फत सरकारका गतिविधिबारे आम जनतालाई जागरुक बनाइरहेको छ । सरकारले गरेका अलोकप्रिय कामका विषयमा विरोध जनाउन थालेको कांग्रेसले जनसम्पर्क समितिमार्फत पनि विभिन्न देशमा सरकारको विरोध गर्ने रणनीति बनाएको छ।
कोपनहेनमा हुने भेलामा कांग्रेसका नेताहरुले सरकारको गतिविधिको विरोध गर्ने विषयमा प्रशिक्षण दिनेछन्। ओली नेतृत्वको सरकार देशका लागि हानिकारक हुन लागेकाले यस विषयमा भेलामा छलफल हुने रिजालले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४