काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीचको सम्बन्धमा चिसोपन देखिएको छ।
हरेक निर्णय गर्दा आफूलाई नसोधेको भन्दै ओलीसँग प्रचण्ड रुष्ट हुँदै आएका छन् । यी दुई नेताबीच तिक्तता बढ्दै गएपछि पार्टी एकीकरण प्रक्रिया अवरुद्ध भएको नेताहरूले बताएका छन्।
सरकारको कामकारबाहीमा प्रचण्ड सहयोगी नभएको भन्दै ओली प्रचण्डसँग असन्तुष्ट बनेका छन्। यद्यपि बुधबार दुई अध्यक्षबीच मात्र बालुवाटारमा भएको भेटले दुरी घट्ने विश्वास गरिएको छ । भेटमा पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने समझदारी भएको भनिए पनि त्यसलाई कार्यरूप नदिएसम्म विश्वस्त हुने आधार भने छैन।
प्रधानमन्त्री ओलीले विवादित गुठी विधेयकका सम्बन्धमा छलफल गर्न उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसद तथा मेयर–उपमेयरलाई बालुवाटारमा बोलाएका थिए। तर प्रचण्डलाई बोलाइएको थिएन। केही समययता अब एक्लै सरकार चलाउन सक्छु भनेर प्रधानमन्त्री ओलीले प्रचण्डलाई समेत टेर्न छाडेको एक नेताले बताए।
ओलीबाट असन्तुष्ट बनेका अध्यक्ष प्रचण्ड वरिष्ठ नेता माधव नेपालसँग नजिक हुन थालेका छन् । यसै क्रममा प्रचण्ड वरिष्ठ नेता नेपाललाई भेट्न सोमबार कोटेश्वर पुगेका थिए। नेपाल निवासमा उनले करिब एक घन्टा छलफल गरेको स्रोतले बतायो ।
छलफलका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सरकार सञ्चालन र पार्टी गतिविधिमा आफूखुसी निर्णय गरिरहेको भन्दै गुनासो पोखेका थिए।
जबाफमा नेपालले पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गरेर सबै समस्या समाधान हुने सुझाव दिएका थिए। नेपालले प्रचण्डलाई पार्टी प्रणाली संस्थागत र विधिगत तरिकाले सञ्चालन गर्न आग्रह गरेका थिए। ‘ताप्के ताते माछा पाक्छ, बिँड ताते हात मात्र पोल्छ’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।
केही समयदेखि नेकपाका नेतात्रय ओली, प्रचण्ड र नेपालले एकले अर्कालाई शंका गर्न थालेका छन् । नेपालले प्रचण्डलाई भेट्दा ओली र ओलीलाई भेट्दा प्रचण्ड सशंकित हुने गरेको एक नेताले बताए।
पार्टी चलाउन माधव नेपालका ६ सुझाव
गुनासो बोकेर आउने ओली तथा प्रचण्डलाई वरिष्ठ नेता नेपालले ६ वटा सुझाव दिएका छन् । यो सुझाव उनले केही समय पहिलादेखि नै दिँदै आएका हुन् । देशभक्तिपूर्ण भावनाले काम गर्न, भारतको सहयोगमा प्रधानमन्त्री हुने आस नगर्न र भ्रष्टाचारको अन्त गर्न र भ्रष्टाचारीलाई दण्ड दिनुपर्ने सुझाव नेपालको छ ।
नेता नेपालले पार्टी निर्देशनमा सरकार सञ्चालन गर्नुपर्ने, राजनीतिक नियुक्तिको निर्णय पार्टी फोरमबाट गर्नुपर्ने तथा यस्ता नियुक्ति योग्यता, क्षमता र वरीयताका आधारमा गर्नुपर्ने सुुझाव दिँदै आएका छन् । उनले पार्टीलाई कमिटी प्रणालीअन्तर्गत सञ्चालन गर्न पनि सुझाव दिएका छन् ।
ईश्वरको चाकरी : बेकारको खातिरदारी
वरिष्ठ नेता नेपालले ईश्वर पोखरेलले आलोपालो नेतृत्वको विरोध गरेकोमा बेकारको चाकरी र खातिरदारी गरेको टिप्पणी गरेका छन् । सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको र त्यसमा अब प्रचण्डले सरकारको नेतृत्व गर्ने दाबी नेता नेपालको छ ।
नेपालले प्रचण्ड र आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने सम्भावना बालियो रहेको दाबी पनि गर्दै आएको स्रोतले बतायो । उनले पार्टीमा प्रचण्ड र ओली पावर बिना रहन नसक्ने भएकाले अहिले उनीहरुबीच खटपट भएको संकेत गरेका छन् ।
प्रचण्ड निरीह , ओली एकलकाटे
वरिष्ठ नेता नेपालले पार्टीमा प्रचण्ड निरीह र ओली सानो घेरामा चल्ने एकलकाटे भएको गुनासो गरेका छन् । नेता नेपालले पूर्व माओवादीमा प्रचण्डविरुद्ध औंला उठाउन सक्ने कोही नभएको तर आफूले ओलीलाई औंला उठाउँदै आएको निकटहरुसँग बताउने गरेका छन् ।
उनले नेता मात्र मिलेर पार्टी चलाउनु टाउको सुन्निने व्यथा लागेको बताउने गरेका छन् । नेपालले राजनीतिक नियुक्तिको कुरा त परै जाओस् राजदूत नियुक्तिमा समेत आफूलाई बाइपास गरेको गुनासो गर्ने गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४