काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीतिगत तहमा हुने भ्रष्टाचारले सरकारको छबि धुमिल्याएको बताएका छन् । उनले सरकारी कार्यालयमै भ्रष्टाचार बढिरहेको र यसले सरकारको बदनाम भइरहेको भन्दै भ्रष्टाचार रोक्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिए ।
बुधबार सिंहदरबारस्थित राष्ट्रियो योजना आयोगको कार्यकक्षमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले नीति नियमको अधिनमा रहेर जनताको सेवा गर्न सरोकारवाला सबैलाई निर्देशन दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारले प्राथमिकता दिएका तथा राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगति राम्रो नभएको भन्दै सम्बन्धित मन्त्रीहरुलाई जिम्मेवार बन्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे आफूलाई गलत रिर्पोटिङ गरिएको दाबी गरे । यसअघि जुन समयमा मेलम्ची आयोजनाको निर्माण सम्पन्न हुन्छ भनिएको थियो, त्यो गलत तथ्यांक रहेको पाइएको उनले सुनाए ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सबैजसो प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारले दिने ससर्त अनुदान कम भएको भन्दै गुनासो गरेको भन्दै प्रदेश सरकारको पूँजीगत खर्च क्षमताका आधारमा ससर्तअनुदानको दायरा मिलाइएको बताए ।
बैठकमा मन्त्रीहरुले आफ्नो कार्यालय अन्तर्गतका आयोजनाहरुको अवस्थाबारे जानकारी गराएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४