काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालको व्यापार घाटा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ।
बैंकले प्रकाशित गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्टमा वैदेशिक व्यापार घाटाको खाडल बढ्दै गएको देखाइएको छ।
चालू आर्थिक वर्षको १० महिनाको विष्लेषण गर्दा ११ खर्ब ७८ अर्ब रुपैयाँको सामान आयात हुँदा ७८ अर्ब ५३ करोड रुपैयाँको सामान मात्रै निर्यात भएको छ। दश महिनाको अवधिमा कुल वस्तु निर्यातमा १८ दशमलव १ प्रतिशतले वृद्धि भई ७८ अर्ब ५३ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। गन्तव्यका आधारमा भारततर्फ ३१ दशमलव ९ प्रतिशत र अन्य मुलुकतर्फ २ दशमलव ३ प्रतिशतले निर्यात वृद्धि भएको हो। यता चीनतर्फ भने २९ प्रतिशतले निर्यातमा कमि आएको छ।
आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयात १९ दशमलव ६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१ दशमलव ८ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १७ दशमलव २ प्रतिशत, चीनबाट भएको आयात ३३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८ दशमलव ८ प्रतिशतले बढेको छ।
यस अवधिमा वस्तु व्यापार घाटा १९ दशमलव ७ प्रतिशतले बढ्दै १० खर्ब ९९ अर्ब ६० करोड पुगेको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलव ७ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६ दशमलव ८ प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्षको वैशाखसम्म अर्थात १० महिनामा चालु खाता एवम् शोधनान्तर घाटा विस्तार भएर २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको १० महिनामा यस्तो घाटा जम्मा १ खर्ब ९२ अर्ब ५ करोड रहेको थियो ।
यस्तै कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११०२ अर्ब ५९ करोड रहेकोमा २०७६ वैशाख मसान्तमा रु.१०६० अर्ब ७० करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ वैशाख मसान्तमा ९ अर्ब ४२ करोड रहेको छ ।
सार्वजनिक गरिएको रिपाेर्ट
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४