काठमाडौं- लोकसेवा आयोगको विज्ञापनका विषयमा परेका सम्पूर्ण रिटको एकैसाथ सुनवाइ हुने भएको छ। मंगलबार तीनवटा रिटको एकैसाथ सुनवाइ गर्ने भनिएको थियो। तर, थप एउटा रिट परेपछि सर्वोच्चले अब चारवटै रिटमाथि एकैपटक सुनवाइ गर्न लागेको हो ।
सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार बुधबार लोकसेवा आयोगको विज्ञापनका विषयमा कुनै निर्णय भएको छैन। विज्ञापन रोक्न अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा सर्वोच्चले बुधबार टुंगो लगाउन सकेन।
न्यायाधीश हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले अब चारवटै रिटमाथि एकैसाथ सुनवाइ गर्ने निर्णय गरेको छ। अधिवक्ता विकास ठाकुरलगायतले विज्ञापन खारेज गर्नुपर्ने मागसहित रिट दिएका थिए। तर, राज्य व्यवस्था समितिको निर्देशन लोकसेवाले मान्न नहुने भन्दै अर्को रिट परेको छ।
स्थानीय तहका लागि लोकसेवा आयोगले जेठ १५ गते विज्ञापन जारी गरेको थियो। तर, उक्त विज्ञापन संविधानद्वारा प्रदान गरिएको समावेशिताको सिद्धान्तविपरीत भएको भन्दै विरोध हुँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४