काठमाडौं - संसदीय सुनुवाई विशेष समितिले सरकारद्वारा प्रस्तावित विभिन्न चार देशका राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा प्रस्तावित राजदूतहरु अष्ट्रलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
सरकारद्वारा प्रस्तावित चारवटै देशका राजदूतहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
समितिले प्रस्तावित राजदुतहरुलाई १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ। त्यसपछि सो उजुरीमाथि छानवीन गरी प्रस्तावित राजदुतहरुको सुनुवाई हुनेछ। समितिले राजदूतमा प्रस्तावितहरुको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४