सुर्खेत – हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा मंगलबार जिप दुर्घटना भएको २४ घण्टा वितेको छ। घटना भएको २४ घण्टा वितिसकेपछि मात्रै उद्धारका लागि गोताखोरको टोली घटनास्थल पुगेको छ।
कर्णाली नदीमा बेपत्ता भएको जिप र यात्रुहरु खोज्न सशस्त्र प्रहरी बल कुरिनटारको गोताखोर टोलीले खोजी गर्न थालेको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। उनका उनुसार सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा ४ जनाको गोताखोरको टोली बेपत्ताको खोजी गरिरहेको छ।
‘२४ घण्टासम्म यात्रु बाँच्न सम्भव त छैन अव लाशकै आश हो।’ प्रहरी निरीक्षक सिंहले भने ‘साँझसम्म यात्रु र जिपको अवस्था पत्ता लाग्ने छ।’ यात्रुको लासको आशमा आज बिहानैदेखि स्थानीय, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, लगायतले खोजीकार्य जारी राखेका छन्।
गत पुसमा ट्रयाक खोलीएको उक्त सडकमा चैत्रबाट नियमित रुपमा जिप सञ्चालन हुँदै आएको थियो। राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा हेलिकप्टर मार्फत जिप त्यहाँ पुर्याइएको हो। दुर्घटनामा परेको जिप १६ सीट क्षमताको रहेको बताइएको छ। स्थानीय लोकजंग शाहीले हेलिकप्टरबाट त्यहाँ पुर्याएको एउटा मात्रै जीप दुर्घटनासँगै उक्त सडक खण्डमा यातायात सेवा बन्द भएको बताए। महिन्द्रा कम्पनीको बोलेरो जिप गाडी धनी शाहीले खार्पुनाथ यातायात प्रालि मार्फत दैनिक सञ्चालन गर्दै आएका थिए।
सिकारुले गाडी चलाउँदा दुर्घटना भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको भनाई छ। उनका अनुसार जिप मंगलबार चालक मणिजंग शाहीले नभई खार्पुनाथ गाउँपालिकका उपाध्यक्षका भाई चन्द्र हमालले चलाएका थिए।
दुर्घटनामा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल, चालक मणिजंग शाही, स्थानीय चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, कौरा दमाइ र उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौं थानकोटका मिस्त्री राजु श्रेष्ठ बेपत्ता भएका प्रहरीले जनाएको छ। दुर्घटनाका बेपत्ताहरुको दिनभर खोजी गरिएपनि गोताखोर नहुँदा समस्या भएको थियो।
मंगलबार याङचुबाट प्रहरी सहयाक निरीक्षक सन्तोश पालको कमाण्डमा ५ जना र जिल्लाबाट प्रहरी सहायक निरीक्षक झकबहादुर रोकायको कमाण्डमा ५ जना, सहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोलीले जिप र यात्रुको अवस्था पत्ता लगाउन नसकेपछि खाली हात फर्किएको थियो। लु १ ज ७६ नम्बरको जिप मंगलबार दिउँसो साढे १२ बजेतिर खार्पुनाथ गाउँपालिका ५ को गाढी बेणु बिसौना र कैलेबालुको बीच खण्डबाट कर्णालीमा खसेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४