काठमाडाैं- गुठी संस्कृति मास्ने विधेयक संसद्बाटै खारेज गर्नु पर्ने माग गर्दै माइतीघर मण्डलामा विशाल नागरिक प्रदर्शन भएको छ। सरकारले गुठी मास्ने षडयन्त्र गरेको भन्दै विभिन्न संघ संस्था र गुठीसँग सम्बन्धीत व्यक्तिहरुले बुधबार प्रदर्शन गरेका हुन् ।
गुठीअन्तरगतको जग्गा जमिन र सम्पत्ति सरकारीकरण गर्ने योजनासहित सरकारले ल्याएको विधेयक संसदबाट फिर्ता भएपछि पनि बुधबार नागरिक खबरदारीका लागि प्रदर्शन गरिएको छ।
विरोध सभामा एक लाख हाराहारीमा जनसहभागिता गराउने लक्ष्य रहेको संघर्ष समितिले जनाएको छ । संस्कृतिविद् सत्यमोहन जोशी, केदारभक्त माथेमालगायतका व्यक्तित्व पनि सभामा सहभागी हुने बताइएको छ । माइतिघर मण्डलामा अहिले विरोधसभा भएको छ।
भूमाफिया र दलालहरुलाई गुठी सम्पत्ति सुम्पने र हिन्दु धर्मको एउटा आधार स्तम्भका रुपमा गुठी परम्परालाई मास्ने डिजाइनअनुसार विधेयक ल्याएको भन्दै सबैतिरबाट व्यापक विरोध र आलोचना भएपछि सरकार विधेयक फिर्ता लिन वाध्य भएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् । उनले विधेयकका विषयमा गलत प्रचार गरेर भ्रम फैलाएको र जनतालाई उत्तेजित बनाउन खोजिएकाले फिर्ता लिएको बताएकी थिइन् ।
विधेयक फिर्ता लिन पछिल्लो दुई साता यता विभिन्न गुठीसँग आवद्ध व्यक्तिहरुले आन्दोलन चर्काएका थिए । उनीहरुले धर्म, संस्कृतिमाथि प्रहार गर्ने गरि ल्याइएको विधेयक फिर्ता नलिए जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएका थिए ।
विधेयक पास भए संस्कृति र प्राचीन सम्पदा मासिने तथा गुठीको जग्गा सहजै भूमाफियाको हातमा पुग्ने भन्दै विज्ञहरुले पनि चिन्ता व्यक्त गरेका थिए ।

सरकारलाई गुठी विधेयक खारेज नै गर्न दबाब दिँदै काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधर माइतीघरमा भेला भएका छन्। उनीहरुले गुठी विधेयक फिर्ता लिएको सरकारलाई खारेज नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएका छन्। गुठीयारको अधिकार सुनिश्चित गर्न आह्वान गर्दै आयोजना गरिएको प्रदर्शनमा धर्म, संस्कृति र सम्पदाहरुको नाश गर्ने काम गरिरहेको दाबी गर्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो। प्रदर्शनकारीले ‘सम्पदा मास्न पाइँदैन,’ ‘गुठीयारहरुको अधिकार सुनिश्चित गर,’ ‘धर्म, संस्कृति र सम्पदाहरको रक्षा गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए। उनीहरुले गुठी विधेयक फेरि आउने आशंका गर्दै त्यसलाई खारेज गर्न सरकारलाई सचेत गराएका छन्।
राष्ट्रिय सभामा प्रस्तुत गुठी विधेयकविरुद्ध चर्को आन्दोलन सुरु गरेका उनीहरुले सो विधेयक खारेज नै हुनुपर्ने अडान राखेका छन्। सरकारले मंगलबार पत्रकार सम्मेलन गरी सो विधेयक फिर्ता लिएको थियो। तर त्यसलाई खारेज गर्नुपर्ने गुठी पक्षधरहरुको माग छ।