काठमाडौं- प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमतको दम्भ देखाएर सरकारले संसदमा पनि बल मिच्याइँ गर्न खोज्न आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्षीको मुख थुनेर जबरजस्ती अघि बढ्न खोज्ने सरकारको दुष्प्रयासले गम्भीर परिणाम निम्त्याउने चेतावनी पनि उनले दिए। प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै देउवाले भने, ‘सरकारको बल मिच्याइँ चल्दैन, हामी कुनै पनि हालतमा मान्दैनौं।’
हिजो आफूले संसद् बैठकमा बोल्न समय माग्दा नदिएको भन्दै उनले आपत्ति जनाए । उनले भने, ‘हिजो पहिले मैले समय मागेको थिएँ। मैले बोलेपछि प्रधानमन्त्रीले जबाफ दिन पाउनु हुन्थ्यो। संसारमा जहिले पनि पहिले प्रतिपक्षीले बोल्न पाउँछन्।’ प्रधामन्त्रीको जबरजस्तीकै कारण हिजो संसद् अवरुद्ध भएको उनले बताए ।
सभापति देउवाले संसदमा प्रस्तावित विधेयक बाहिर गएर फिर्ता लिनु कहाँको संसदीय मर्यादा हो भन्दै प्रश्न गरे । उनले भने, ‘मन्त्रीले बाहिरबाट फिर्ता लिएर हुँदैन। संसद्मा रहेको विधेयक संसद् चलेका बेला संसदबाट फिर्ता लिनुपर्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४