काठमाडौं- दलका नेतालाई बोल्न समय नदिएको भन्दै मंगलबार (हिजो) प्रतिनिधि सभा अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सदन चल्न दिने भएको छ।
आजको प्रतिनिधि सभा बैठकको सुरु मै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवालाई बोल्न दिने समय मिलाइएको छ।
सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार देउवाले बैठकको सुरु मै बोल्ने छन्। त्यसपछि संसदको नियमित प्रक्रिया अगाडि बढ्नेछ।
यसैबीच, कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले सभापति देउवाले सम्बोधन गरेपछि मात्र सदनको काम अगाडि बढ्न दिने जानकारी दिइन्।
हिजो कांग्रेस सभापति देउवालाई बोल्न नदिएको भन्दै संसद अवरुद्ध भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्धारित सम्बोधन पनि हुन सकेको थिएन। अब तत्कालै प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने सम्भावना छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४