जनकपुरधाम- जनकपुरमा खानेपानीको हाहाकार भएको छ । विगत केही दिनदेखि लगातार गर्मी वृद्धि भएको कारण चापाकलहरु सुक्दै गएपछि खानेपानीको हाहाकार भएको हो ।
गर्मी याममा अन्य वर्षहरु समेत यस्तो समस्या देखिएपनि यसपटक भने अवस्था भयावह बनेको स्थानीयहरु बताउँछन् । लामो समयदेखि वर्षा नहुनु र गर्मी बढ्दै गएपछि पानीको स्रोत सुक्दै गएकोले जनकपुरमा खानेपानीको समस्या भएको बताइएको छ ।
चापाकलहरुबाट पानी आउन छोडेपछि उपमहानगरपालिकाले प्रभावित क्षेत्रहरुमा खानेपानी उपलब्ध गराउने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीताकुमारी मिश्रले खानेपानीको समस्या देखिएको वडाहरुमा ट्यांकर पुर्याएर भएपनि समस्या समाधान गर्नतर्फ आफूहरु लागि परेको बताइन् ।
खानेपानीको समस्या भएपछि जनकपुरमा सम्भवतः पहिलो पटक ट्यांकर प्रयोग गरेर उपभोक्तासम्म पानी पुर्याउन लागिएको हो । यसअघि पनि गर्मी महिनामा पानीको समस्या भएपनि वितरणको लागि ट्यांकर प्रयोग भएको थिएन् ।
अत्याधिक गर्मीका कारण जानकी मन्दिर छेउछाउ, वडा नम्बर ३, १०, ११, ६ लगायतका क्षेत्रहरुमा पानीको समस्या देखिएको उपमेर मिश्रको भनाइ छ । यस क्षेत्रमा खानेपानी संस्थानका साथै चापाकलहरु सुक्न थालेपछि बढी समस्या देखिएको उनले बताइन् ।
खानेपानीको समस्या देखिएका क्षेत्रहरुमा उपमहानरपालिकाको दमकल सफा गराएर पानी पुर्याउने तयारी गरिएको मिश्रको भनाइ छ । ‘चापाकाल सुक्नुका साथै खानेपानी संस्थानको पानी समेत आउन छोडेपछि समस्या देखिएको छ,’ नेपाल समयसँग कुरा गर्दै मिश्रले भनिन्‘हामीले उपमहानगरपालिकाको दमकल सफा गराइसकेका छौँ, आज साँझबाट पानी वितरण कार्य सुरु हुने छ ।’
विगत केहि वर्षअघि सम्म डेढ सयदेखि २ सय फिटको गहिराइमा चापाकलमा पानी आउने गरेपनि पछिल्लो पटक चार सयदेखि साढे चार सय फिट गहिराइ भएको चापाकलमा समेत पानी आउन छोडेको छ ।
प्रचण्ड गर्मीका कारण पानीको सतह घट्दै गएपछि जनकपुरमा पानीको समस्या भएको विज्ञहरु बताउँछन् । यसैगरी चुरे दोहन बढ्दै गएपछि पानी सिंचित हुन छोडेपछि जनकपुरमा यदाकदा देखिने पानीको समस्या अब समान्य बन्दै गएको उनीहरुको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४