काठमाडौं- सरकारले गुठी विधेयक फिर्ता लिएपनि आन्दोलनकारीहरुले भने आन्दोलनका कार्यक्रम फिर्ता लिएका छैनन् । उनीहरुले बुधबार (आज) माइतिघरमा प्रदर्शन गर्ने कार्यक्रम यथावत राखेका छन् ।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति, गुठी विधेयकविरुद्ध संघर्ष समितिलगायत विभिन्न गुठीयार संघसंस्थाले आज माइतीघर मण्डलामा विरोध सभा गर्ने भएका छन्। सरकारले विधेयक फिर्ता लिएपनि गलत कुरा गरेर झुक्याइएको भन्दै उनीहरुले विरोधका कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
विरोध सभामा एक लाख हाराहारीमा जनसहभागिता गराउने लक्ष्य रहेको संघर्ष समितिले जनाएको छ । संस्कृतिविद् सत्यमोहन जोशी, केदारभक्त माथेमालगायतका व्यक्तित्व पनि सभामा सहभागी हुने बताइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् । उनले विधेयकका विषयमा गलत प्रचार गरेर भ्रम फैलाएको र जनतालाई उत्तेजित बनाउन खोजिएकाले फिर्ता लिएको बताएकी थिइन् ।
विधेयक फिर्ता लिन पछिल्लो दुई साता यता विभिन्न गुठीसँग आवद्ध व्यक्तिहरुले आन्दोलन चर्काएका थिए । उनीहरुले धर्म, संस्कृतिमाथि प्रहार गर्ने गरि ल्याइएको विधेयक फिर्ता नलिए जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएका थिए ।
विधेयक पास भए संस्कृति र प्राचीन सम्पदा मासिने तथा गुठीको जग्गा सहजै भूमाफियाको हातमा पुग्ने भन्दै विज्ञहरुले पनि चिन्ता व्यक्त गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४