वीरगन्ज- भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्राउन परिक्षण सुरु गरिएको छ । मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप बिछ्याउने काम सकिसँगै यसको परीक्षण (टेस्टिङ) काम सुरु गरिएको हो ।
अहिले पाइपलाइनको हाइड्रो टेस्टिङ भइरहेको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । विशेषगरी यसमा लिकेज छ कि छैन, नट जडानहरू राम्रोसँग भएको छ कि छैन भन्ने कुराको परीक्षण गरिएको उनले जानकारी दिए ।
पाइपलाइनको परीक्षण गर्न एक महिनासम्म लाग्ने उनको भनाइ छ । हाइड्रो परीक्षणपश्चात् पाइपलाइनबाट पहिलो चरणमा डिजेल ल्याउने तयारी भएको निगमले जनाएको छ ।
परीक्षणपछि तेल ल्याउने मिति नेपाल र भारतबीचको छलफल र समझदारीबाट तय गरिने भएको छ । अमलेखगञ्ज डिपोमा पाइपबाट आएको तेल भण्डारणका लागि संरचना निर्माण अन्तिम चरणमा छ ।
१ लाख किलोलिटरका दुई र ३९ लाख किलोलिटर क्षमताका दुईवटा ट्यांकी तयारी अवस्था रहेको निगमले जनाएको छ ।
मोतीहारी–अमलेखगन्ज रुटमा ६९.९ किलोमिटरसम्म पाइप बिछ्याइएको छ । भारततर्फ मोतीहारीदेखि रक्सोलसम्म ३२.६५ किलोमिटर छ ।
नेपालतर्फ रक्सोलदेखि अमलेखगन्जसम्म ३७.२५ किलोमिटर पाइप बिछ्याइएको छ । यसमध्ये पछिल्लो समय पथलैयादेखि अमलेखगन्जसम्मको ९ किलोमिटर खण्डमा जंगलको बीचैबीच पाइप बिछ्याइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४