सुर्खेत - हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल (शाही) सहित ९ जना यात्रु बोकेको लु १ ज ७१६६ नम्बर जिप
कर्णाली नदीमा बेपत्ता भएको छ। घटनास्थलमा रहेका पत्रकार राजन रावलका अनुसार वेपत्ता हुनेमा उपाध्यक्ष शाहीसहित, ड्राइभर मणि शाही, चन्द्र हमाल, ढुक्कु भण्डारी बसन्ती शाही, नन्ददेवी सिंह रहेका छन्। उनीहरु सबै खार्पुनाथ गाउँपालिकाका स्थानीय हुन्।
अन्य तीन जनाको भने विवरण खुल्न सकेको छैन। जिपमा सवार एक जना प्राविधिक र नावालकसहितकी एक महिलाको परिचय भने खुल्न नसकेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उद्धारका लागि सेनासँग गोताखोर झिकाउने पलह भैरहेका छ। गोताखोर नहुँदा घटना भएको तीन घण्टासम्म पनि जिप र यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन। कर्णाली नदी धमिलो भएको र वहावसमेत बढेकाले जिपको अवस्था पत्ता लगाउन समस्या परेको प्रहरी भनाइ छ।
उद्धारका लागि याङचुबाट प्रहरी सहयाक निरीक्षक सन्तोश पालको कमाण्डमा ५ जना र जिल्लाबाट प्रहरी सहायक निरीक्षक झकबहादुर रोकायको कमाण्डमा ५ जना, सहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेका छन्। उद्धारमा दुई वटा हेलीकप्टर प्रयोग गरिएका छन्। अहिले घटनास्थलमा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र स्थानीयले वेपत्ता यात्रु र जिपको खोजीकार्य जारी राखेका छन्।
जिप आज करिब साढे १२ बजेतिर खार्पुनाथा गाउँपालिका ५ को गाढी बेणु बिसौना र कैलेबालुको बीच खण्डबाट कर्णालीमा खसेको हो। जिप सडकबाट करिब ४५ मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको छ।