काठमाडौं - नेकपाका सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्ष कांग्रेसले सदनमा प्रधानमन्त्रीलाई रोक्न नमिल्ने बताएका छन्। उनले भने, ‘कांग्रेसले प्रधानमन्त्रीले बोल्नुअघि प्रतिपक्ष दलका नेताले बोल्न पाउनुपर्छ भनेर संसद्मा अनैतिक कुरा गरेको छ।’
उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएर कांग्रेसले संसदीय व्यवस्थामाथि धावा बोलेको आरोप लगाए। उनले भने, ‘आफूलाई संसदीय व्यवस्थाको पर्यायवाची ठान्ने कांग्रेसले प्रधानमन्त्रीलाई संसद्मा बोल्न नदिएको घटना नेपालको संसदीय इतिहासकै निन्दनीय छ।’
संघीय संसद् भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जबाफ दिने क्रममा सांसद भट्टराईले जनसरोकारका विभिन्न विषयमा सरकारको पोजिसन स्पष्ट पार्न रोस्टममा पुगेका प्रधानमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले निन्दनीय काम गरेको बताए।
भट्टराईले प्रधानमन्त्रीले बोलेपछि प्रतिपक्ष दलका नेतालाई बोल्न दिने सभामुखले भनिरहँदा पनि कांग्रेसले नमान्नु अत्यन्तै अनैतिक कुरा भएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४