सुर्खेत - हुम्लाको तल्लोखार्पुबाट जिल्ला सदरमुकातर्फ आउँदै गरेको लु १ ज ७१६६ नम्बर यात्रुवाहक जिप कर्णाली नदीमा खसेको छ। जिप खार्पुनाथ गाउँपालिकाको वडा नं. ५ बाट करिब ४५ मिटर तल नदीमा खसेको हो।
मंगलबार करिब साढे १२ बजेतिर जिप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए। उनका अनुसार उद्धारका लागि दुई हेलीकप्टर लिएर सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। स्थानीयका अनुसार जिपमा करिब १५ यात्रु सवार रहेका थिए।
उद्धारका लागि याङचुबाट प्रहरी सहायक निरीक्षक सन्तोश पालको कमाण्डमा ५ जना र जिल्लाबाट प्रहरी सहायक निरीक्षक झकबहादुर रोकायको कमाण्डमा ५ जना, सहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको छ। घटनास्थल हुम्ला सदरमुकाम सिमिकोटबाट करिब ९ किलोमिटर टाढाको दुरीमा पर्दछ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।
घटनाको थप विवरण आउन बाँकी छ। स्थानीय टंक शाहीका अनुसार जिपमा खार्पुनाथ गाउँपालिकका उपप्रमुख सिन्धु हमाल (शाही) परेको आशंका गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४