काठमाडौं- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति विस्तारित बैठक असार ६ र ७ गते काठमाडौंमा बस्ने भएको छ ।
समसामयिक राजनीतिको समिक्षा र भावी रणनीति तय गर्न बैठक डाकिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा राप्रपाले राखेको २२ बुँदे माग, सरकारसंग भएको पहिलो चरणको वार्ता, पार्टीले सञ्चालन गरेको जनसंघर्षका कार्यक्रम, दुई चरणको राष्ट्रिय स्वाभिमान यात्रालगायतका विषयमा छलफल हुने उनले बताए ।
बैठकमा केन्द्रीय समिति, प्रदेश कार्य समितिका अध्यक्षहरु, केन्द्रीय विभागका प्रमुख, भातृ संगठनका प्रमुख र ७७ वटै जिल्लाका अध्यक्ष सहभागी हुने भएका छन् ।
बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र लिङ्देनले संगठन सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्ने श्रेष्ठले जानकारी दिए ।
प्रदेश अध्यक्ष, भातृ संगठनका प्रमुख र जिल्ला अध्यक्षले पनि सांगठनिक र भावी कार्य योजनाबारे प्रतिवेदन पेश गर्ने भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४