काठमाडौं- नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ लाई स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ । सोमबार अपराह्न ४ बजे अन्तरिक्षमा घुम्ने गरि स्वतन्त्र रुपमा छाडिएको हो ।
जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘वर्ड–३’ परियोजनाअन्तर्गत नेपालका लागि उक्त भूउपग्रह गत वैशाख ४ गते परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो ।
डेढ महीनाअघि देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूूउपग्रहले साेमबारबाट पृथ्वीको कक्षमा आई आकाशबाट स्वतन्त्र रुपमा परिक्रमा गर्ने भएको हो ।
उक्त भूउपग्रहले पहिलो चरण भूटान अनि नेपाललाई जानकारी दिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का अन्तरिक्ष यान प्रविधि (एरोस्पेस) इञ्जिनीयर मिलनकुमार न्यौपानेले जानकारी दिए ।
“पृथ्वीको ४०० किलोमिटर माथि आइएसएसमा पाँच जना अन्तरिक्ष यात्री बसी उक्त भूउपग्रह सोमबार आकाशमा छाडिएका हुन्”, न्यौपानेले भने, “अमेरिकाका दुई, रसियाका दुई र क्यानाडाका एक जना व्यक्तिलाई आइएसएसमा सो कामका लागि खटाइएको थियो ।”
सो भूउपग्रहको तौल एक किलो ३०० ग्राम, यसको आकार एक हजार घनत्वको रहनाका साथै यसमा छ वटा ब्याट्री जडित भएकाले सो सूर्यबाट चल्ने र फालेको परिधिभन्दा बाहिर भूउपग्रह गएमा बढी जोखिममा पर्ने सम्भावना हुने बताइएको छ ।
सो भूउपग्रहमा पाँच मेगा पिक्सल क्यामेरा जडान गरिएको छ । यसबाट सङ्कलन गरेको फोटो व्यावसायिक काममा त्यति प्रयोग गर्न नमिल्ने नाष्टका इञ्जिनीयर रोशन पाण्डेले जानकारी दिए ।
यो भूउपग्रहले एकपटक पृथ्वीको परिक्रमा गर्दा ९० मिनेट लगाउँछ । नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले भने, “सो भूउपग्रहले दिनको १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ ।” विश्वमा लगभग ४० हजार भूउपग्रह निर्माण भयो भने पूरै पृथ्वीको परीक्षण गर्न सकिने बताइएको छ ।
नेपालले पहिलोपटक प्रक्षेपण गरेको सो भूउपग्रहले नेपाली जनशक्तिको निर्माणका साथै क्षमता विकास, अन्तर्राष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा मानिसको उपस्थिति तथा उत्साही युवामा पहुँचका दृष्टिले अघि बढाएको बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४