धनगढी - बझाङमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।
सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाउँपालिका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जीपमा कतिजना सवार थिए भन्ने यकिन जानकारी नआए पनि घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक माहानन्द जोशीले मृतकको संख्या १० पुगेको जानकारी दिए ।
यसैबीच दुर्घटनामा परि ज्यान गुमाएका १० जना मध्ये ८ को सनाखत भएको छ।
दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाउँपालिका वडा नम्बर १ का कलक बहादुर खड्का, उनका एक छोरा, सोही ठाउँका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, चालक सुरेन्द्र थापा र लक्ष्मि द्धाल रहेको वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरीक्षक माहानन्द जोशीले बताए।
घाइतेहरुको उद्धार नाई एन एकेडी नम्बरको हेलीकप्टर मार्फत भइरहेको प्रहरीले जनाएको छ। घाइतेलाई उद्धार गरि नेपालगञ्ज लैजाने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
जीप भीरमा खसेको र हावाहुरीसंगै पानी परिरहेकाले घाइतेहरूको उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसी सहितको टोली घटना स्थलतर्फ गएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४