काठमाडौं - मजुदर आन्दोलनको कारण देखाउँदै हायात होटल (तारागाउँ रिजेन्सी होटल्स लिमिटेड) अनिश्चितकालका लागि बन्द भएको छ।
सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सलाई पत्र लेख्दै हयातले होटलमा नै कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको हडतालका कारण होटल बन्द गर्न बाध्य भएको बताएको छ।
आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३(१) ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारले पर्यटन आवास, मोटेल, होटेल, रेष्टुरा र रिसोर्टसम्बन्धि सेवासमेतमा हड्ताल गर्न निषेध गरेको भएपनि होटेलसँग आवद्ध उक्त मजदुर संगठनका कारण होटेल बन्द गर्नु परेको विज्ञप्तिमा उल्लेख छ।
होटेल व्यवस्थापनलाई गलत प्रभाव र दबाब दिन संघले होटेलमा कार्यरत श्रमिक कामदारलाई गैह्र कानुनी हड्ताल र नाराजुलुश गर्न लगाएको आरोप होटेलले लगाएको छ।
