काठमाडौं - पूर्वसांसद एवं नेकपा नेता कृष्णलाल महर्जनले सरकारले अगाडि सारेको गुठी विधेयकले नेवार संस्कृतिमाथि हमला गरेको बताएका छन्।
‘विधेयक जस्ताको तस्तै पारित गरेमा नेवार संस्कृतिमाथि आक्रमण गर्छ, त्यसकारण त्यसलाई सच्याउनुपर्छ’, नेपाल समयसँग महर्जनले भने।
अहिले अगाडि सारेको गुठी विधेयकबाट समुदाय तथा निजी गुठीलाई हटाउनुपर्ने उनले दाबी गरे। ‘निजी र समुदायले गठन गरेको गुठीमा सरकारको कुनै लगानी हुँदैन। आफ्नो कुनै लगानी नभएको गुठीमा सरकारले आँखा गाड्नु हुँदैन’, उनले भने।
महर्जनका अनुसार काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा निजी तथा सामुदायिक गुठी छन्। तिनले यहाँको नेवार संस्कृति र परम्परालाई प्रवर्द्धन गर्दै आएका छन्।
महर्जनले भने, ‘उपत्यकामा नेवाहरुको थरैपिच्छे गुठी छन् । त्यसको आफ्नै इतिहास र परम्परा छ। यसलाई भत्काउन प्रयासले राम्रो परिणाम ल्याउँदैन।’
महर्जनले विधेयक नसच्याएमा अहिले नेवारहरुको मर्दापर्दा हुने सबै पर्वहरु अवरुद्ध हुने बताए।
यही विषयमा केही सांसद भूमिसुधारमन्त्रीलाई भेटेर विधेयक सच्चाउन माग राखेको बताए। महर्जनले भने, ‘मन्त्रीजीले बाहिर आएको प्रतिक्रिया र सरोकारवालालाई सम्बोधन गरिने र थप छलफल गरेर विधेयक अघि बढाइने बताउनुभएको छ।’
महर्जनका अनुसार ललितपुरमा मच्छिन्द्रनाथको समेत धेरैवटा गुठी छन् । ‘मच्छिन्द्रनाथको रथको चक्का हाल्ने, रथ तान्ने, बाजा बजाउने, कुन टोलमा कसले तान्ने भन्ने लगायतका विषयमा दर्जनौँ गुठी छन्’, उनले भने।
उनले विधेयक अगाडि नबढ्ने मन्त्रीको आश्वासनप्रति आफू विश्वस्त रहेको बताए। महर्जनले यस्ता गुठीलाई सरकारले चलाएका कारण सडकमा आन्दोलन चर्किएको बताए। उनले भने, ‘कत्राकत्रा आन्दोलन वार्ताबाट समाधान भएका छन् । यसलाई सरकारले वार्ताबाट समाधान खोज्नुपर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४