काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपामा केही समययता पार्टीको आदर्श र सिद्धान्तका विषयमा जुहारी चलेको छ। पूर्व एमाले मार्काका नेताहरु मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ जबज नै पार्टीको आदर्श हुने भन्दै आएका छन्।
तर पूर्व माओवादी केन्द्रका नेताहरु जबजलाई जस्ताको तस्तै स्वीकार गर्ने नभई परिवर्तित सन्दर्भअनुसार पार्टीको निर्देशक सिद्धान्त र आदर्श परिवर्तन हुन सक्ने बताउँदै आएका छन्। त्यसो त नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुँदा जबजलाई आदर्श मान्ने सहमति नै जुटेको थियो।
लामो समयसम्म पार्टी एकीकरण प्रक्रिया टुंग्याउन नसकिरहेका बेला आदर्शको कुरा लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेलबीच यो विषय चर्चामा रहेको देखिन्छ। यो क्रम करिब दुई महिना यता बाक्लोरुपमा देखिएको छ। तत्कालीन एमाले महासचिव ईश्वर पोखरेल मदन भण्डारीको जबजमा अडिग देखिएका बेला प्रचण्डले ‘जबज तत्कालीन समयको आवश्यकता थियो, अब परिमार्जित हुनुपर्छ’ भन्दै आएका छन्।
तर सोमबार आयोजित एक कार्यक्रममा भने प्रचण्डले जबजलाई छाडेर ‘जनताको जनवाद’ भनेका छन्। जनवाद भन्ने शब्द नेकपामा पहिलो पटक प्रयोग भएको हो। तत्कालीन नेकपा माओवादीले आफूलाई जनवादको मसिहाका रुपमा स्थापित गर्ने प्रयास गरे पनि राजनीतिक मुलधारमा आउँदा त्यो आदर्श लगभग छोडिसकेको थियो। तर पछिल्लो समय पद र आदर्शको बहस चर्किँदै जाँदा प्रचण्डले परित्यक्त ‘जनवाद’लाई फेरि उछालेका हुन्।
उनको जनवादको कुरा भूँईमा खस्न नपाउँदै नेकपाभित्रका पूर्व एमालेले प्रचण्डको प्रतिकारसमेत सुरु गरिसकेका छन्। यसअघि ‘आलोपालो प्रधानमन्त्री’ को समझदारी सार्वजनिक गरेर पूर्व एमालेमार्कामा अलोकप्रिय बन्दै गएका प्रचण्डले झन् जनवादको कुरा निकालेपछि पार्टीभित्र उनिविरुद्ध जनमत बनाउन लागिएको जस्तो देखिएको छ।
नेकपा केन्द्रीय सदस्य सुर्य थापाले प्रचण्डको जनवादलाई कुतर्क भनेका छन्। उनले भनेका छन्, ‘निराकार, सार र स्वरुपहीन जनताको जनवादको कर्खा गाउनु कुतर्कबाहेक अरु केही होइन।’
पोखरेल निकट नेता थापाले प्रचण्डको भनाईलाई जबजको स्थगनमा भयानक षड्यन्त्रको पुष्टी भइरहेको ठानेका छन्।
लामो समयसम्म राजनीतिक विषय र पार्टी संचालनमा खास्सै नबोलेका प्रचण्ड केही समय यता आफूहरुबीच भएको पूर्व सहमति, राजनीतिक कार्यदिशा लगायतका विषयमा बोल्दै जाँदा पार्टीभित्र प्रधानमन्त्रीसमेत रहेका ओलीलाई पक्षपोषण गर्ने पंक्ति प्रचण्डको विरोधमा खरो रुपमा उत्रिएको देखिएको छ।
एकीकरणको समयमा जबज स्वीकार गरेका प्रचण्डले यतिबेला जनवादको राग अलाप्नुका पछाडि एकीकरणका क्रममा गरिएको समझदारी कार्यान्वयनमा दबाब सिर्जनाका रुपमा पनि हेर्न थालिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४