जनकपुरधाम- गुठी विधेयकको विरोधमा जनकपुरका साधुसन्त आन्दोलनमा उत्रेका छन्। सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक हिन्दु धर्म संस्कृतिमाथिको प्रहार रहेको भन्दै उनीहरु आन्दोलनमा उतरेका हुन्। उनीहरूले विधेयक फिर्ता लिन माग गरेका छन्।
रामानन्दीय श्री वैष्णव संघको नेतृत्वमा सडकमा उतरेका साधुसन्तले सरकारको विरोध गरेका छन्। जनकपुरस्थित तुलसी स्मारकबाट सुरु भएको साधुसन्तको विरोध ¥याली नगरको विभित्र भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो।
जिल्ला प्रशासन पुगेका साधुसन्तले विधेयक फिर्ता लिन प्रमुख जिल्ला अधिकारीमार्फत सरकारसँग ज्ञापनपत्र पेस गरेका छन्। ‘संघीय सरकारले गुठी विधेयक ल्याएर हिन्दु धर्म र संस्कृतिमाथि प्रहार गर्न खोजेको छ। विधेयक तत्काल फिर्ता नभए यहाँका साधुसन्त कडा संघर्षमा जान बाध्य हुने छ,’ ज्ञापन पत्रमा भनिएको छ।
यसअघि बसेको साधुसन्तहरुको बैठकले सरकारले हजारौं वर्ष पुरानो सनातन परम्परा नष्ट गर्ने उद्देश्यले गुठी विधेयक ल्याएको ठहर गरेको छ। विधेयकलाई विनाशकारी बताउँदै उनीहरुले नेपालबाट साधुसन्तलाई विस्थापित गर्ने ध्येय सरकारले लिएको निष्कर्ष निकालेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४