काठमाडौं- महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा चल्ने सार्वजनिक यातायातमा पाकेट मार्न संलग्न ८२ जनालाई पक्राउ गरेको छ। उपत्यकामा चोरी डकैती बढेपछि प्रहरीले विशेष अपरेसन चलाएको थियो।
यातायात व्यवसायीसँगको सहकार्यमा बस र माइक्रोबसमा सादा पोसाकका प्रहरी परिचालित थिए। नगद, मोबाइल, गरगहना लुट्ने ७८ जना पुरुष र ४ महिला पाकेटमार पक्राउ गरेका हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पाकेटमारा दुई देखि २ जनाका दरले ६ जना समूह बनाई बसमा छिर्छन्। यात्रुलाई घेराबन्दीमा पारी नगद र मोबाइल, गहना लुटेर फरार हुने गरेको खुलेको छ।
पाकेटमारले सांकेतिक भाषा प्रयोग गरी लुट्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पाकेटमाराले पैसालाई द, मोबाइलाई कान, धेरै पैसा भए टानको द र थोरै पैसा भए जुटको द भन्ने गरेका छन्। लुटेराको भाषामा केटालाई छापा, प्रहरीलाई ठुल्दाइ, ड्राइभरलाई माम, खलासीलाई मले भन्ने गरेको खुलेको छ।
नगद तथा जिन्सी लुटिसकेपछि उनीहरू भाग भन्न टप्की, गाडीभित्र जा भन्न अकल जा, पछाडि जा भन्नलाइ चिछल जा भन्ने गर्छन्।
पक्राउ परेका उनीहरुका साथबाट ६ लाख बढी नगद २१ थान मोबाइल र दुई थान ल्यापटप बरामद भएको छ।
नक्कली डलर र सुन देखाएर लुट्ने दुई पक्राउ
नक्कली डलर र सुन देखाएर लुट्ने दुई जना पक्राउ परेका छन्। सिन्धुपाल्चोक बाह्रबिसेका रामबहादुर तामाङलाई परिसरको विशेष टोलीले भक्तपुर साँगाबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट ठगी गरेको १५ लाख बरामद भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४