मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदमा गगन कड्किए : 'ओलीका अरिंगालबाहेक कोही सुरक्षित छैन यहाँ '

संसदमा गगन कड्किए : 'ओलीका अरिंगालबाहेक कोही सुरक्षित छैन यहाँ '

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कांग्रेस सांसद गगन थापाले देशमा सरकारविरुद्ध बोल्ने केही पनि सुरक्षित नरहेको बताएका छन्। प्रतिनिधिसभाको विशेष समयमा आइतबार बोल्दै सांसद थापाले सरकारका अरिंगाल मात्र सुरक्षित रहेको दाबी गरे।

सरकारले ल्याउन लागेका कानुन संविधानविपरीत रहेको उल्लेख गर्दै थापाले भने, ‘अब कोही पनि सुरक्षित छैन। यो कानुन पारित भइसकेपछि कसरी कार्यान्वयन हुन्छ भन्ने हामी अनुमान लगाउन सक्छौं। यहाँ सरकारका अरिंगाल मात्र सुरक्षित रहनेछन्।’

थापाले पशुपति शर्माको गीत बन्द गर्ने, गुठी विधेयकको विरोधमा बोल्नेहरुको मुख थुन्ने, लाठी हान्ने, चलचित्रको समीक्षा गरेको भन्दै प्रनेश गौतम विनाकारण हिरासतमा रहनुलाई प्रतिनिधि घटना मात्र रहेको बताए। उनले भने, ‘घटनाभन्दा पनि सरकारले यसलाई कसरी लिए भन्नु हो। यो प्रत्येक घटना ठीक छ भन्ने सरकारको दलिल छ यो नै डर लाग्दो छ।’

उनले संविधानले अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा लिएको चर्चा गर्दै भने, ‘यो आधारभूत अधिकारको आत्मा हो। कसैबाट लिने र कसैले दिने होइन। यहाँ त सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान नै ध्वस्त गर्ने गरी गाली बेइज्जती गरिरहन पाउने तर सरकारलाई मन नपर्दा गाली बेइज्जती र शिष्टाचार नैतिकताका नाममा जुन बेला मन लाग्यो, जसको जतिखेर जहाँ मन लाग्यो त्यतिखेर मुख थुन्न पाउने कानुन बन्दै छ।’

नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद संसदबाट पारित गर्न खोजिएको सूचना प्रविधि विधेयकको विरोध गर्दै उनले भने, ‘कुनै पनि व्यक्तिलाई जिस्क्याउने झुक्याउने, होच्याउने, हत्तोसाहित गर्ने र धम्क्याउने आशयले समाजिक सञ्जालमा सन्देश सम्प्रेषित ग¥यो भने पाँच वर्ष कैद र १५ लाख रुपैयाँ जरिबानाको सजाय भोग्नुपर्नेछ। जिस्काउने र होच्याउनेको परिभाषा के ?’

थापाले जिस्काउने, झुक्याउनेको परिभाषा सूचना प्रविधि अदालतलाई दिन खोजिएको बताए। उनले भने, ‘याद रहोस् सूचना प्रविधि अदालतमा रहने तीन जना व्यक्ति सरकारले आफ्नो मनखुसी छान्न पाउनेछन्।’

सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका सबैलाई एक ठाउँमा राखेर हेरियो भने यसबाट सरकारको आशय के हो भन्न बुझ्न सकिने थापाले बताए। उनले भने, ‘सरकारले के भन्न खोजेको? सायद लेखक ब्रजेश खनालले भने जस्तै

तँ बोल त्यति मात्रै जे म सुन्न चाहन्छु।

तँ हेर त्यति मात्रै जो म देखाउन चाहन्छु

तँ सुन त्यति मात्रै जे म सुनाउन चाहन्छु

तेरो स्वतन्त्रताको घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन।

किनकि मलाई चिनेको छस्, म हुँ सरकार, हुँ म सरकार, म हुँ तेरो सरकार

बृजेश खनालले भनेको जस्तै सरकारको आशय देखिएको छ।’

नेता थापाले चलचित्रकर्मी साथीहरु होसियार रहन सचेत गराए। उनले भने, ‘तपाईंको कथा संवाद गीतमा अब कसैलाई जिस्काउने कन्टेन्ट छ भनेर प्रनेश गौतमको ठाउँमा अब तपार्इं हुनुहुनेछ। त्यो पनि केही दिनका लागि होइन पाँच वर्षका लागि।’

‘प्रधानमन्त्रीले पानीजहाज ल्याउँछु भनेर जिसकाउँछु भनेर कागजको पानीजहाज बनाएर समाजिक सञ्जालमा राख्ने युवक पनि होसियार!’ थापाले भने, ‘समानुपातिक समावेशी सिद्धान्तमा कानुन बनाइयो भनेर मन्त्रीलाई सामाजिक सञ्जालमा प्रश्न गर्ने होसियार ! म त भन्छु– प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्ने साथीहरु पनि होसियार ! किनकि सभामुख महोदय अब कोही पनि सुरक्षित छैन। यो कानुन पारित भइसकेपछि कसरी कार्यान्वयन हुन्छ भन्ने हामी अनुमान लगाउन सक्छौं। यहाँ सरकारका अरिंगाल मात्र सुरक्षित रहनेछन्।’

आन्दोलनका लागि तयार रहन आह्वान गर्दै थापाले भने, ‘यही हो बोल्ने बेला, यो कानुन संसद्बाट पारित हुनु भनेको संविधानको खिलाफ मात्र होइन, हाम्रो आन्दोलनको, हाम्रो अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा हो। म आजैबाट सबैलाई यो कानुनबारे सुसूचित रहन यसबारे लेख्न बोल्न भन्न र जनमत निर्माण गर्नका लागि सबैलाई अपिल गर्न चाहन्छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।