मंगलबार, साउन २६, २०८३

वीरगन्जमा इन्धन तस्करी चुलियो : लिटरमै १४ रुपैयाँ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगन्ज- सीमा वारपार पेट्रोलियम इन्धनमा फराकिलो मूल्य अन्तरका कारण व्यापक परिमाणमा तस्करी भइरहेको छ। तस्करी नियन्त्रणका लागि नेपाल आयल निगमले वितरकको वास्तविक क्षमता अनुसारमात्र इन्धन उपलब्ध गराउन थालेपछि वितरकले विरोध जनाएका छन्।

वीरगन्ज र सीमापारि भारतीय बजारमा प्रतिलिटर पेट्रोल मूल्यमा १४ रुपैयाँ अन्तर छ। स्थानीय बजारमा प्रतिलिटर पेट्रोलको मूल्य १०८ रुपैयाँ ५० पैसा र सीमावर्ती भारतीय बजारमा प्रतिलिटर पेट्रोल १२३ रुपैयाँमा बिक्री भइरहेको छ। यसैगरी स्थानीय बजारमा नेपाल आयल निगमले डिजल ९७ रुपैयाँका दरले बिक्री गरिरहेकोमा सीमापारि ११२ रुपैयाँका दरले डिजल बिक्री भइरहेको छ।

नेपाल आयल निगम वीरगन्ज कार्यालय प्रमुख रामकुमार न्यौपानेले पेट्रोलियम इन्धनको तस्करी व्यापक मात्रामा भइरहेकाले वितरणमा कडाइ गरिएको बताए। उनले भने, ‘स्थानीय पेट्रोल पम्पबाटै इन्धन तस्करी भइरहेको व्यापक गुनासो आएकाले हामीले नियन्त्रणको प्रयास गरेका हौं।’ निगमले सीमित परिमाणमा इन्धन उपलब्ध गराएको भन्दै स्थानीय पेट्रोल पम्पले आफूहरुसँग इन्धन जगेडा नभएको भन्दै उपभोक्तालाई रित्तो हात फर्काउन थालेका छन्।

नेपाल पेट्रोलियम संघ पर्साका अध्यक्ष विनोद चौरसिया तस्करी बढेको बहानामा आपूर्ति नियन्त्रित गरेर सर्वसाधारण उपभोक्तालाई दुःख दिने काम भएको आरोप लगाए। उनले भने, ‘तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासन र निगमले आवश्यक उपाय अपाउनुको साटो आपूर्ति नै ठप्प पार्ने कदम गलत भएकाले हामी विरोधमा उत्रिएका हौं।’

भारतको विभिन्न स्थानबाट उद्योगका लागि मालसामान बोकेर आएका ठूलो भारवहन क्षमताको मालबाहक ट्रक, कन्टेनर र टेलरका चालक भारततर्फ फर्किने समयमा एउटा गाडीले दुई सय लिटर इन्धन भर्ने गरेको छ। भारतबाट वीरगन्ज भन्सार कार्यालय, एकीकृत जाँच चौकीबाट भित्रिने ठूला मालवाहक सवारीसाधन र ग्रामीण नाकाबाट भित्रिने निजी सवारीसाधन नेपाली बजारबाट इन्धन खरिद गरेर लैजाने गरेका छन्।

भन्सार र जाँच चौकी हुँदै दैनिक दुई सयको संख्यामा भारतीय मालवाहक ट्रक भित्रिने गरेको छ। साथै निगमका लागि बिहारको बरौनीस्थित भारतीय आयल निगमको टर्मिनलबाट खाना पकाउने ग्यास ढुवानी गरेर आएका ट्यांकरका चालकले समेत फर्किने क्रममा पम्पबाट डिजल लैजाने गरेका छन्।

यो बाहेक मोटरसाइकल र साइकलमा डिजलको ग्यालेन बोकेर सीमा वारपार तस्करीको धन्दामा संलग्नको संख्या पनि उल्लेखनीय रहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ।

कृत्रिम अभाव सिर्जना गर्दै तस्करी गरिरहेकोमा तीन दिनदेखि सीमावर्ती रक्सौल डिप्पोबाट निगमले इन्धन ढुवानी गर्न पाएको छैन। भारतीय आयल निगमको रक्सौलस्थित इन्धन डिप्पोमा ट्यांकरमा इन्धन भर्ने पम्पमा खराबी आएकोले बिहीबारदेखि इन्धन ढुवानी ठप्प रहेको छ।

मर्मत कार्य सुरु भइसकेकाले आइतबारदेखि आपूर्ति सहज हुने पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।