जनकपुर- अत्याधिक गर्मीका कारण पूर्वी तराईका विभिन्न जिल्लाहरुमा धमाधम विद्यालय बन्द गर्न थालिएको छ । धनुषा, महोत्तरी, बारालगायतका जिल्लाका विद्यालय आइतबारबाट बन्द गरिएको छ ।
धनुषाका विद्यालयहरु आइतबारबाट एक साताको लागि बन्द भएको हाम्रा सहकर्मी धैर्यकान्त दत्तले जनाएका छन् ।
पछिल्लो केहि दिनयता अचानक गर्मी बढेपछि शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका सबै पालिकाहरुलाई विद्यालय बन्द गर्न पत्राचार गरेको छ ।
अत्याधिक गर्मीका कारण बालबालिकालाई पठनपाठनमा समस्या देखिएकोले २ अषाढ देखि ६ अषाढसम्म विद्यालय बन्द गर्ने निर्णय भएको इकाइ प्रमुख भरखुप्रसाद रजकले बताए ।
वर्षे विदामा कट्टा हुनेगरी विद्यालयहरु बन्द गर्ने निर्णय भएको उनले बताए । अत्याधिक गर्मीका कारण बालबालिकाहरु बिरामी पर्न थालेका छन् भने विद्यालय आवतजावत गर्न समेत समस्या हुँदै आएको छ ।
यस्तै राससले पठाएकाे समाचारअनुसार क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न महोत्तरीका विद्यालयहरु पनि बन्द गरिएका छन् ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये आधाले विद्यालय बन्द गरेका छन् भने आधाले बन्द गर्नका लागि छलफल थालेका छन् ।
त्यस्तै बाराका विद्यालयहरु पनि आइतबारबाट बन्द गरिएका छन् । बिहान सूर्य उदयदेखि साँझ अस्तसम्म एकटङ्कारको घामको राप बढेपछि विद्यालय बन्द गरिएको स्थानीय सरकारका प्रतिनिधिहरुले बताएका छन् ।
पछिल्ला केहि दिन यहाँ देशैभर अत्याधिक मात्रामा गर्मी बढेको छ । तराइमा बढेको प्रचण्ड गर्मीको रापले सामान्य हिँडडुल गर्न पनि सकस बनेको छ । गर्मीले गर्दा हाटबजार र कार्यालयमा पनि चहलपहल देखिँदैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४