काठमाडौं- सरकारले नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधिमाथि गत फागुन २८ गते प्रतिबन्ध लगाउने घोषणा गर्यो ।
एनसेल मुख्यालय नजिक विस्फोट गराई हिंसात्मक बाटोमा अगाडि बढेको र शान्तिसुरक्षा खलबल्याएको भन्दै सरकारले प्रतिबन्धसँगै विप्लव समूहका गतिविधि चैतभित्रै नियन्त्रणमा लिने दाबी गरेको थियो।
तर विप्लवले गृहमन्त्री रामबहादुर थापाको सरकारी कार्यालयभन्दा करिब ५ सय मिटरको दुरीमा विस्फोट गरायो । शृंखलाबद्ध विस्फोटको भोलिपल्ट गृहमन्त्री थापाले वैशाख १३ गते संघीय संसद्मा बोल्दै विप्लवले चार तहका सेना बनाएको जबाफ दिए ।
गृहमन्त्रीका अनुसार विप्लव समूहले चार तहका सेना बनाइसकेको छ । गृहमन्त्री थापाले विप्लव समूहको आक्रमणको निसाना उच्च नेता रहेको समेत संसद्लाई जानकारी गराएका थिए ।
सरकार विप्लव समूहमाथि आक्रामक बन्दै आएको छ । प्रहरीले देशभरबाट विप्लवका करिब ५ सय नेताकार्यकर्ता पक्राउ गरिसकेको छ ।
अहिले सुरक्षा निकायलाई विप्लवको सामथ्र्य र उनीहरूसँग रहेको हतियार टाउको दुखाइ बनेको छ। सरकारले भनेजस्तै प्रहरी प्रशासनको सक्रियताले उसका गतिविधि नियन्त्रण गर्न सम्भव छ ? यी प्रश्नको आआफ्नै ठाउँबाट विश्लेषण हुन थालेको छ ।
पूर्वडिआइजी तथा हेमन्त मल्ल भन्छन्, ‘विप्लव समूहसँग अहिल्यै हतियार उठाएर युद्ध गर्ने र शान्तिसुरक्षा खलबल्याउने सामथ्र्य छैन । उसका पछिल्ला घटना उपस्थिति देखाउने प्रकृतिका छन् । उनका अनुसार सरकारले विप्लवमाथि दबाब बढाएर वार्तामा ल्याउने रणनीति बनाएको जस्तो पनि देखिन्छ । तर समस्या सानो भए पनि विस्तारै ठूलो रुपमा आउन सक्छ ।
गृहमन्त्री रामबहादुर थापामाथि शान्तिसुरक्षा मजबुत बनाउन नसकेको, उल्टै विद्रोहीलाई फाइदा पुग्ने र जनतामा त्रास फैलिने खालको अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको छ ।
कुनै बेला विद्रोही विप्लवसँग सहकार्य र नजिकको सम्बन्ध बनाएका थापाले संसद्मा दिएको अभिव्यक्तिमाथि शंका उब्जिएको छ । उच्च स्रोतका अनुसार प्रतिबन्धपछि प्रहरीको विशेष टोलीले विप्लवलाई काठमाडौंबाट चितवनसम्म पिछा गरेको थियो । सरकारमा रहेका नेकपाका उच्च नेताहरुले उनलाई पक्राउ गर्ने मनस्थिति नदेखाएपछि प्रहरी ब्याक भएको थियो ।
कति छन् विप्लवसँग हतियार ?
जासुसी संयन्त्रले गृह मन्त्रालयमा पेस गरेको रिपोर्टअनुसार विप्लवसँग एक हजार बढी हतियार छन् । जसमा नेपाली सेनाले प्रयोग गर्ने एम-१६ र एम के- ४७ र एसएलआरसमेत छन् । विप्लव समूहले विस्फोट गराउन प्रयोग गर्ने टाइमर पेन ४५० थान भारतबाट नेपाल भित्र्याएको छ ।
जासुरी संयन्त्रले पाएको सूचनाअनुसार विप्लवसँग ६ सय हाराहारीमा तालिम प्राप्त भूमिगत लडाकु छन् । १३ वर्षे सशस्त्र द्वन्द्वका बेला सुरक्षा निकायबाट लुटिएको र भित्र्याइएका हतियार शान्तिवार्तामा आउँदा सरकारलाई बुझाउने सर्त राखिएको थियो । तर केही मात्र हतियार बुझाएर बाँकी हतियार लुकाइयो । लुकाइएका हतियार अहिले विप्लवसँग पुगेको स्रोतले दाबी गरेको छ ।
पक्राउ परेका अधिकांश छुटिसके
विगत तीन महिनामा देशभरबाट विप्लवका ४८६ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
देशभरको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी राजधानीबाट ८२ र प्रदेश ३ बाट ४५ जना विप्लबका नेताकार्यकर्ता पक्राउ परेका छन् । यो तथ्यांकले उसका गतिविधि उपत्यका केन्द्रित बढी रहेको देखाउँछ । प्रदेश २ मा २१, प्रदेश १ मा ६५, प्रदेश ४ मा ७६, प्रदेश ५ मा ८४ प्रदेश ६ मा ४५ र प्रदेश ७ मा ६५ जना पक्राउ परेका छन् ।
पक्राउ परेका ४८६ मध्ये ८४ जना जेल चलान भएका छन्। ८६ जना अनुसन्धानकै क्रममा छन् र बाँकी ३०६ जना रिहा भइसकेको नेपाल प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४