मंगलबार, साउन २६, २०८३

‘गुठी विधेयक पारित भए ठुलो प्रलय आउने’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – सरकारले ल्याएको गुठी विधेयक पारित भए मुलुकले थाम्न नसक्नेगरी ठुलो प्रलय आउने जनकपुरस्थित जानकी मन्दिरले चेतवानी दिएको छ। धर्मसंस्कृतिमाथि प्रहार गर्ने उद्देश्यले ल्याउने लागिएको विधेयक फिर्ता नभए मुलुकमा ठुलो धार्मिक प्रलय हुने जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले चेतावनी दिएका हुन्।

‘साधुमाथि आक्रमण हुँदा लंका विनाश भएको रामायणमा उल्लेख छ,’ शुक्रबार पत्रकार सम्मेलन गरेर महन्त दासले भने, ‘विधेयकमार्फत धर्मसंस्कृति र साधुसन्तमाथि प्रहार गर्ने प्रयास भइरहेको छ। विधेयक पारित भए देशमा प्रदेशमा धार्मिक प्रकोपको माध्यमले क्षति हुने छ। र, त्यो क्षति कसैले रोक्न सक्ने अवस्था रहँदैन्।’

मठमन्दिरलाई आफूमातहत राख्ने गरी सरकारले ल्याएको विधेयक फिर्ता नगरिए साधुसन्तहरु आन्दोलनमा उत्रिन बाध्य हुने उनको चेतावनी थियो। विभिन्न मठमन्दिरका साधुसन्तसमेत उपस्थित रहेको पत्रकार सम्मेलनमा महन्त दासले चाँडै संघर्ष समिति निर्माण गरी आन्दोलनको घोषणा गर्ने जानकारी दिए।

सरकारले आफू अन्तर्गत ल्याएर मठमन्दिर तथा जग्गा जमीन नष्ट गर्ने धेयका साथ विधेयक ल्याएको उनको आरोप थियो। ‘राजाले कानुन ल्याएर कतिपय मठमन्दिर नष्ट गरे। अहिले बाँकी रहेका मठमन्दिर सरकारले विधेयक ल्याएर नष्ट गर्न खोजेको छ,’ महन्त दास भन्छन्, ‘विधेयक तत्काल फिर्ता लिन सरकारसँग मेरो आग्रह छ। विधेयक फिर्ता नभए यहाँका साधुसन्तहरु आन्दोलनमा जाने छन्।’

महन्त दासले सरकारले धर्म, संस्कृति र सनातन परम्परा अन्त्य गर्न गुठी विधेयक ल्याएको टिप्पणी गरेका छन्।

‘यहाँका मठमन्दिर सरकारले बनाएको होइन। दाताहरुले पनि सम्पत्ति न राजालाई दान गरेको छ, न कुनै सरकारलाई,’ महन्त दासले भने, ‘धार्मिक तथा सांस्कृतिक धरोहरको रुपमा रहेको मठमन्दिर सरकारले कुनै बहानामा कब्जा गर्न मिल्दैन।’

तत्कालीन राजाले ल्याएको कानुनअनुसार सम्पत्ति गुठी संस्थानले पहिल्यै कब्जा गरिसकेको र अब साधुसन्तले बनाएको मठमन्दिर पनि कब्जा गर्ने षडयन्त्र भइरहेको दासले जिकिर गरे।

पत्रकार सम्मेलनमा उपस्थित साधुसन्तहरुले संघर्ष समिति गठन गरेलगत्तै विधेयक फिर्ता लिन जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने जनाएका छन्। आफूहरुको मागउपर सुनवाइ नभए तत्काल चरणबद्ध आन्दोलनको घोषणा गर्ने उनीहरुले चेतावनी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।