काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले मौद्रिक नीति बनाउने क्रममा मागिएको सुझावमा आ–आफना स्वार्थ अनुसारको सुझाव आएको बताएका छन्।
शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषय छलफल कार्यक्रममा उनले मौद्रिक नीतिमा कसैले पनि समग्र अर्थतन्त्र राम्रो बनाउने विषयमा सुझाव नदिएको बताउँदै सबै संघसंस्थाहरुले आ–आफ्नो स्वार्थ पुरा हुने खालका सुझावहरु मात्र दिएको जानकारी दिए।
उनले भने, ‘पहिलेका धेरै नीतिहरुमा आफ्नो स्वार्थ घुसाउन विभिन्न व्यक्तिहरु सक्षम भएका थिए त्यसैले कतिपय नीतिहरु उनीहरुको पक्षमा आएका पनि छन् जसले समग्र अर्थतन्त्रमा केही नकरात्मक असर परेको छ।’
डा.खतिवडाले यसपाली त्यस्तो नहुने र नेपाल राष्ट्र बैंकको अनुसन्धान टिम निक्कै सशक्त र सक्षम रहेको दाबी गर्दै मौद्रिक नीति बजारलाई अध्ययन गरेर नै ल्याइने स्पष्ट पारे।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष कुमार मोरले नेपालमा व्यवसायीहरुको हकमा भने मौद्रिक नीतिले बेवास्ता गरेको गुनासो गरे। उनले आगामी मौद्रिक नीतिमा ‘थर्ड मर्चेन्ट ट्रेडको’ नीतिगत व्यवस्था गर्नुपर्ने माग राखे।
त्यसैगरी नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सिसिडि रेसियोमा कृषि कर्जाको ऋणको गणना गर्न नहुने, विदेशी लगानी आकर्षित गर्ने खालका नीतिहरु लिनुपर्ने, मर्जरका लागि विभिन्न छुट दिनुपर्ने लगायतका मागहरु रहेको जानकारी दिए।
सो कार्यक्रममा पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री, अर्थविद् चन्द्रमणी अधिकारी, विकास बैंकर्स संघका महासचिव मनोज ज्ञवाली, वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले आगामी मौद्रिक नीति सरकारको आर्थिक बृद्धिदरको लक्ष्य हासिल हुन सहयोग पुग्ने खालको ल्याउनुपर्ने धारणा राखे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४