धनगढी - कञ्चनपुरको महेन्द्रनगरमा अटोरिक्सा र जेसीबीको ठक्करबाट भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। गम्भीर घाइते अटोचालक भीमदत्त नगरपालिका ११ का प्रेम थापाको भारतको बरेली लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यसअघि, दुर्घटनास्थलमै बैतडी जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डुका ३८ वर्षीय किशनसिंह बोहरा, कास्की पोखरा पृथ्वीचोककी ३५ वर्षीया बिना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिल प्रशादको मृत्यु भएको थियो। चार जनाको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।
घाइते कञ्चनपुरको बेल्डाडी गाउँपालिका ७ का २६ वर्षीय सन्तोस लुहार, मृतक किसनसिंह बोहराकी श्रीमती ३२ वर्षीया लक्ष्मी बोहरा र उनका ३ वर्षीय छोरालाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ।
दुर्घटनाका बेला साइकलमा विद्यालय गइरहेका भीमदत्त नगरपालिका १० का जगदिश पार्की समेत घाइते भएका र उनको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञान बहादुर विष्टले जानकारी दिए।
शुक्रबार बिहान साढे सात बजेतिर पूर्वपश्चिम राजमार्गको महेन्द्रनगर गड्डाचौकी सडकखण्ड अन्तर्गत भिमदत्त नगरपालिकाको वडा नम्बर ६ बनगाउँ नजिक अटो रिक्सालाई विपरित दिशाबाट आइरहेको जेसिबीले ठक्कर दिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४