पाल्पा - पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउको खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ। गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए।
जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये निस्दी-३ सार्कीडाँडाका नौं वर्षीया निर्मलासिं ठुकरी, चार वर्षीय विष्णुसिं ठकुरी, सात वर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिए।
बिरामीमध्ये निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी, विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौंका विभिन्न अस्पतालमा निधन भएको हो। नजीकैको जङ्गलबाट खोजेर ल्याइएको च्याउ पकाएर तरकारी खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए। विरामीको नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंलगायतका अस्पतालमा उपचार भइरहेको छ।
बिरामी ८० वर्षीय प्रेमसिं ठकुरी उपचारपछि घर फिर्ता भएका छन्। यस्तै ३६ वर्षीया चनकुमारी खाम्चा, उनकी छोरी १५ वर्षीया विमला, ३० वर्षीया दानमायासिं ठकुरी र धनकुमारी सिंको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
पाल्पा सदरमुकाम तानसेनदेखि करिब ७० किमी पूर्व सार्कीडाडाँका विकटका चार परिवारका सदस्य बिरामी परेका हुन्। प्रतिनिधिसभा सदस्य रानाले गृह मन्त्रालयबाट मौखिक निर्णय गराई बिरामीको निःशुल्क स्वास्थ्योपचारको पहल भएको जानकारी दिए। बिरामी तथा ज्यान जानेको परिवारमा सहयोगका विषयमा सरकारसँग छलफल हुने सांसद रानाले बताए।
आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुगेका सांसद रानाले मृतकका परिवारलाई उचित राहत प्रदान गर्न र बिरामीको सबै स्वास्थ्योपचार सेवा सरकारबाट व्यहोर्न पहल गरिएको जानकारी दिए। उनले पटक पटक पाल्पाका विकट भेगमा च्याउ खाएकै कारण ज्यान जाने खतरा यसअघि पनि भएकाले च्याउ खाँदा सचेत रहन आग्रह गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४