काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
कसैले सार्वजनिक यातायातको भाडा वृद्धि भएलगतै फिर्ता भएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले गुठिको विषयलाई प्राथमिकताका साथ छापेका छन् । केहिले नेपाल वायुसेवा निगम भित्रको अनियमिततालाई उठाएका छन् ।
आजको नागरिक दैनिकले सार्वजनिक यातायातमा बढाएको भाडा पाँच घण्टा नबित्दै फिर्ता लिएको विषयलाई मुख्य समाचार बनाएको छ भने विप्लवका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्ने टोलीको दुरबिन खोसेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोलीको साथबाट लुटेर दुरविन कब्जा गरेको छ।
सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा ‘प्वाइन्ट’ (बिन्दु) मध्ये खोटाङ लौरेडाँडामा पुगेका सरकारी अधिकारीबाट खोसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर (दुरविन) कब्जामा लिएका हुन्।
जेठ ७ गते लौरेडाँडा पुगेका सरकारी अधिकारीहरुबाट विप्लवका कार्यकर्ताले दुरविन लुटेको भन्ने खबर पाएपछि प्रहरीले त्यस क्षेत्रमा खोटाङ र सोलुखुम्बुबाट सुरक्षाकर्मी खटाएको थियो। सगरमाथाको उचाइ नाप्न गएको टोलीका सदस्यले भने यो घटनालाई गुपचुप राखेको समाचारमा उल्लेख छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने गुठी भित्रको चलखेललाई मुख्य समाचार बनाएको छ । मुठीमा गुठी शीर्षकमा खबर लेखेको उसले गुठीका जग्गा व्यक्ति, क्लब, संघ, संस्था र सरकारबाट अतिक्रमण भएको जनाएको छ।
गुठी संस्थानको पछिल्लो तथ्यांकअनुसार ६९ जिल्लामा दुई हजार तीन सय ५० रोपनी जग्गा राजगुठी छन्। यी राजगुठीमा १४ लाख ५० हजार रोपनी (बिघालाई पनि रोपनीमा परिणत गरेर) जग्गा छ। ६९ मध्ये सातवटा जिल्लामा गुठी संस्थानकै कार्यालय छन् भने बाँकी ६२ मा मालपोत कार्यालयको निगरानी छ।
संस्थानका प्रवक्ता थपलियाका अनुसार पर्सामा २६० बिघा, जनकपुरमा २०१ (१८१ बिघा सरकारले र २० बिघा व्यक्ति, क्लब र संघसंस्थाले) बिघा, महोत्तरीमा ७२ बिघा र बारामा ३० बिघा अतिक्रमणमा परेको छ । उपत्यकाभित्र ५० रोपनी व्यक्ति र संघसंस्थाले र २० रोपनी नक्सालस्थित नारायण चउरले अतिक्रमण गरेको समाचारमा उल्लेख छ ।
आजको कान्तिपुरले गुठी विधेयकको विरोधमा मत्स्येन्द्रनाथका ३१ पुजारीले राजीनामाको चेतावनी दिएको विषयलाई मुख्य समाचार बनाएको छ ।
दैनिक नित्य पूजा, चारपटक आरती, जात्रा सञ्चालन गर्दै आएका पुजारीले विधेयक जबर्जस्ती पारित गरिए मत्स्येन्द्रनाथ जात्रा सञ्चालनमै समस्या आउने भन्दै उनीहरुले राजीनामाको चेतावनी दिएका हुन् ।
रातो मत्स्येन्द्रनाथ ३२ पानेजु संघअन्तर्गत ३१ पुजारी छन्, ७ बज्राचार्य र २४ शाक्य कुलका । उनीहरू प्रत्येक १५ दिन पालैपालो मन्दिरमा खटिन्छन् । त्यसबापत प्रत्येकलाई १० देखि १५ रोपनी खान्की जग्गाको व्यवस्था गरिएको छ ।
पुजारीका लागि छुट्याइएको जग्गा व्यक्तिको हुँदैन । जो पुजारी छ, उसले भोगचलन गर्ने हो । पुजारीका लागि छुट्याइएको २ सय ५८ रोपनी जग्गा अहिले मोहीले भोगचलन गर्दै आएका छन् । त्यसबापत उनीहरू पुजारीलाई कुत बुझाउँछन् ।
गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमा मोहीले भोगचलन गर्दै आएको जग्गा मोहीकै नाममा जाने व्यवस्था राखिएपछि पुजारीहरू आक्रोशित भएको समाचारमा उल्लेख छ।
आजको नयाँ पत्रिकाले भने नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्राष्ट्रिय उडानका जहाज नियतवश पूर्ण क्षमतामा नउडाएको खुलासा गरेको छ । उडान घटाउँदै, घाटा बढाउँदै निगम शीर्षकमा मुख्य समाचार छापेको उसले निगम भित्रको अनियमितता खोतलेको छ।
समाचारमा जनाइएअनुसार निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती मात्र गरेको छैन, जापान र कोरियामा हुने भनिएको उडान नियतवश ढिला गरेको देखिन्छ ।
दैनिक १८ घन्टा उड्न सक्ने वाइडबडी जहाज हाल नौ घन्टा मात्रै उडिरहेको छ भने १६ घन्टा उड्न सक्ने न्यारोबडी जहाज नौ घन्टा १५ मिनेट मात्रै उडिरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४