काठमाडौं - श्रम ऐनअनुसार बिदा तथा अन्य सेवासुविधा नपाएको भन्दै होटल ह्यातका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। कर्मचारीले बिहान नौ बजेदेखि दिनभर काम ठप्प पारे।
विदेशी कामदार ल्याएर नेपाली कामदारलाई प्रतिस्थापन गर्ने, विदेशी कामदारद्वारा नेपाली कामदार हेपिनेलगायत समस्या होटलमा रहेको भन्दै कर्मचारीले आन्दोलन गरेका हुन्। कर्मचारी सेवासुविधा पनि असन्तुष्ट छन्।
अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले होटल प्रशासनले कर्मचारीको मागको सुनुवाइ नगरे थप कडा आन्दोलनमा जाने चेतावनी दिएका छन्।
होटल ह्यातमा काम गर्ने कामदार र होटलबीच २०७२ सालमा आधिकारिक ट्रेड युनियनले रोजगारदाता (होटल ह्यात, श्रमिक र ट्रेड युनियन) बीच त्रिपक्षीय सम्झौता (सिबिए) गराएको थियो। सो सम्झौतामा महिला कामदारका लागि सुत्केरी बिदा ९० दिन, बिरामी बिदा ४५ दिन लगायत एउटै पद वा तहमा काम गर्ने सबै कर्मचारीले एकै किसिमको तलब पाउनुपर्ने उल्लेख थियो। तर होटल हायातमा कामदारहरुले सो सम्झौता अनुसारको सेवा सुविधा र तलब पाएका थिएनन्।
कर्मचारीको आन्दोलनका कारण होटलको सेवा प्रभावित हुँदा पाहुना मर्कामा परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४