काठमाडौं – नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी बचाउन काठमाडौंबासी जागे भने कुनै शक्तिले रोक्न नसक्ने चेतावनी दिएका छन्। उनले गुठी विधेयककै कारण सरकार अप्ठ्यारोमा पर्न लागेको बताए।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘गुठी बचाउन काठमाडौंका जनता जागेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन।’ उनले काठमाडौं उपत्यकाबासीको आन्दोलन कुनै पनि शक्तिले थेग्न नसक्ने बताए।
काठमाडौं ६ का सांसद प्रधानले भने, ‘काठमाडौंका जनता जुरुक्क उठेपछि राजतन्त्र फालियो। हेक्का राख्नुहोस् अहिले केपी शर्मा ओलीको सरकार ढल्ने भन्ने चिन्ता होइन। संविधानप्रति नै जनताले अनास्था गर्लान् भन्ने चिन्ता हो।’ गुठीसम्बन्धी विधेयकमार्फत सरकारले ऐतिहासिक, पुरातात्त्विक महत्व, धर्म, संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको उनले आरोप लगाए।
उनले गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए। संविधानले गरेको व्यवस्थाविपरीत सरकारले गुठी विधेयक ल्याएको भन्दै विधेयक फिर्ता गर्नुको विकल्प नभएको उनको भनाइ थियो।
राजधानीमा गुठीसम्बन्धी विधेयकलगायत सरकारले संविधानविपरीत ल्याएका विधेयक विरुद्ध काठमाडौंमा दिनहुँ विरोध प्रदर्शन र आन्दोलन जारी छन्। उनले समयमै सच्चिन सरकारलाई चेतावनी दिए। ‘काठमाडौंमा आन्दोलनको हुरी चल्दैछ। दिनका दिन आन्दोलनका बादल गर्जिंदै छ’, उनले भने, ‘विधेयक तुरुन्तै फिर्ता गरी आन्दोलन चर्किन्छ र त्यो आन्दोलनले कसलाई कहाँ पुर्याउँछ भन्न सकिन्न।’
पूर्व मन्त्रीसमेत रहेका प्रधानले उपत्यकाबासीको आन्दोलन कुनै पनि शक्तिले थेग्न नसक्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४