काठमाडौं – प्रतिपक्षी कांग्रेसले वर्तमान सरकारप्रति जनता असन्तुष्ट रहेको दाबी गरेको छ। कांग्रेसप्रति भने आकर्षण बढ्दै गएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनले भने, ‘राष्ट्रिय जागरण अभियानका क्रममा जनताको आकर्षण कांग्रेसप्रति बढेको देखियो।’
अभियानका क्रममा कांग्रेसले राखेको सरकारप्रतिको दृष्टिकोणमा जनताको समर्थन रहेको उनले बताए। कांग्रेसले उठाएका विषयमा जनताले समर्थन गरेको उनले बताए। वैशाख २५ गतेदेखि सुरु भएको कांग्रेसको पहिलो चरणको जागरण अभियान जेठ २५ गते सम्पन्न भएको थियो। उक्त विषयमा जानकारी गराउन कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरेको हो।
अभियानका क्रममा कांग्रेसको कमजोरी पनि पत्ता लागेको प्रवक्ता शर्माले बताए। उनले जनतासँग छलफल गर्दा धेरै कुरा जानकारीमा आएको र त्यसलाई कांग्रेसले स्वीकार गरेको बताए।
अभियानका क्रममा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु पुगेका थिए। धेरै ठाउँमा कार्यकर्ताले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको गुनासो नेतृत्वसमक्ष गरेका थिए। यस्तै पार्टी संगठन कमजोर बनाउँदै गएको, नेताहरू पार्टी र मुलुकको हितमा भन्द गुटगत स्वार्थमा केन्द्रित भएको जस्ता आलोचना भएको थियो। अधिकांश कार्यकर्ताले पार्टी अब जागरणमा होइन, १४ औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने दबाब दिएका थिए।
सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुने कार्यकालिका कांग्रेसको छ। पहिलो चरणको अभियान वैशाख २५ गते सुरु भई जेठ २५ गते समापन भएको थियो। दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भइ असोज ७ गते समापन हुनेछ भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भइ पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने कार्यतालिका छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४