काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको तीनदिने भ्रमणका लागि राजधानी पेरिस पुगेका छन्। प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी सहभागी छन्।
पेरिसको गेर दु नोर्द स्टेसन आइपुग्दा उनलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, फ्रान्सेली शिष्टाचार अधिकृत फ्राँस्वा जेभियर लेजर तथा पेरिसस्थित नेपाली राजदूतावासका अधिकारीले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीले आजै फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासङ्घले आफ्नो मुख्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरे। कार्यक्रममा फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधिले भाग लिएका थिए।
प्रधानमन्त्री ओलीले फ्रान्सका केही कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गरेका पेरिसस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दुवै अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध लगानीको अवसरका विषयमा जानकारी दिँदै फ्रान्सेली कम्पनीलाई लगानीका लागि आग्रह गरे। बुधबार साँझ प्रधानमन्त्री ओली राजदूत अधिकारीले आयोजना गरेको स्वागत समारोहमा सरिक भएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४