काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
कसैले प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर नयाँ निवास बनाउन लागेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले सरकार विवादास्पद विधेयकको जालोमा अल्झिएको विषयलाई प्रमुखताका साथ छापेका छन् । केहिले लोकसेवा आयोगको विज्ञापन रद्दगर्न खोजिएको विषयलाई पनि महत्वका साथ प्रकाशित गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकले ४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास शीर्षकमा मुख्य समाचार छापेको छ ।
अहिलेको संरचना भत्काएर बालुवाटारमै प्रधानमन्त्रीका लागि निजी निवास र सार्वजनिक निवास गरि २ वटा भवन बनाइने भएकाे छ । ४० करोड खर्च गरेर बनाउन लागिएको भवनमा डाक्टर कक्ष, सैलुनदेखि होम थिएटरसम्म राखिने भएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार (आज) बोलपत्र आह्वान गर्दैछ । चालु आर्थिक वर्षदेखि नै सुरु भवन निर्माण सुरु गरिने छ भने २ वर्ष भित्र सक्ने लक्ष्य राखिएको समाचारमा उल्लेख छ।
आजको नागरिक दैनिकले भने विवादास्पद विधेयकको जालोमा अल्झियो सरकार शीर्षकमा मुख्य समाचार छापेको छ । सरकारले ल्याएका धेरैजसो विधेयक विवादित बन्दै गएपछि सरोकारवाला विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेका छन्। विधेयक विवादमा आएपछि सरकार अलमलमा परेको छ।
राष्ट्रिय सुरक्षा परिषद्को काम कर्तव्य, अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मिडिया काउन्सिल विधेयक, शान्तिसुरक्षा कायम गर्न बनेको विधेयक, नेपाल प्रहरीको गठन तथा सेवासर्त सम्बन्धमा बनेको विधेयक, गुठीसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक, मदिरा उत्पादन र बिक्रीवितरण नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी विधेयक, राष्ट्रिय मानवअधिकारसम्बन्धी विधेयक मस्यौदामा सरोकारवाला निकाय, संस्था र व्यक्तिले असन्तुष्टि जनाउँदै विरोध गरेका छन्।
यी विधेयकको चर्को विरोध भएपछि सरकारले संसद्बाट पास गराउन सकेको छैन। सरकारले राष्ट्रियसभामा छलफल नगरी राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएको राहादानीसम्बन्धी विधेयक पनि फिर्ता भएको समाचारमा उल्लेख छ ।
आजको कान्तिपुरले भने लोकसेवा विज्ञापन विवादः मन्त्रीले दिए चुनौती शीर्षकमा मुख्य समचार छापेको छ । संसदीय समितिले स्थानीय तहका कर्मचारी भर्नासम्बन्धी लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्देशनको औचित्यमा सरकारले प्रश्न उठाएको छ ।
विभागिय मन्त्रीसमेत रहेका संघीय मामिला तथा सामान्य प्रशानमन्त्री लालबाबु पण्डितले प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिलाई निर्णयको औचित्य पुष्टि गर्न चुनौति दिएको समाचारमा उल्लेख छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने यसै विषयलाई लोकसेवा रोकेर तोकसेवा शीर्षकमा खबर लेखेको छ । करारमा नियुक्त गर्ने व्यवस्था गर्न लागेर आफ्ना मान्छे र कार्यकता भर्तीकेन्द्र बनाउन खोजिएको समाचारमा उल्लेख छ ।
यस्तै अन्नपूर्णले महोत्तरीको गौशला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा विद्यालय बन्द गरेर बिहेको भोज चलाइएको विषयलाई मुख्य समाचार बनाएको छ । यो भोज संघीय समाजवादी पार्टीका नेता लक्ष्मी महतोका भतिजको बिहेको रहेको समाचार जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४